सरकारले उद्योगी व्यवसायीलाई डण्डा लगाएर कर उठाउदैन: अर्थमन्त्री खतिवडा

बिएल संवाददाता

काठमाडाै‌ं

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले उद्योगी व्यवसायीलाई डण्डा लगाएर कर नउठाउने स्पष्ट पारेका छन्। 

६८औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले अझै पनि भन्सारमा राजस्व कम उठ्ने प्रबृत्ति पूरै नरोकिएको भन्दै विकल्प प्रयोग गरेर सरकारले राजस्व बृद्धि गर्ने बताए। पछिल्लो समय भन्सार छलि कम हुने गरेपनि ८ प्रतिशत बस्तु कम मूल्यांकनमा भन्सारबाट छिर्ने गरेको मन्त्री खतिवडाले बताए। 

उनले भन्सार र राजस्व सुधार गर्न भन्सार ऐन संसदमा दर्ता गरिएको र नयाँ ऐन आएपछि भन्सार र राजस्वमा सुधार हुने जिकिर गरे। उद्योगी व्यवसायीलाई सहज बनाउन आयात निर्यात व्यवसायलाई रेल र आइसीपीसँग जोड्ने काम हुदै गरेको भन्दै उहाले चोभारको सुख्खा बन्दरगाह निर्माणको २५ प्रतिशत काम सम्पन्न भएको पनि जानकारी दिए। भारतको घन्द्रा र मुन्द्रा नाका प्रयोग गर्ने विषयमा पनि भारत सरकारसँग कुरा भइरहेको मन्त्री खतिवडाको भनाइ छ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघंका अध्यक्ष भवानी राणाले निजी क्षेत्रले सरकारका कार्यक्रम सफल बनाउन सहकार्य गरिरहेको बताए। नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले राजस्व परिचालनका लागि भन्सर आवश्यक रहेको बताए। 

प्रकाशित मिति: : 2020-01-27 05:13:17

प्रतिकृया दिनुहोस्