नेपाल–अंग्रेज युद्ध (१८१४–१५) को बेला गोर्खालीहरूले अत्यन्त बहादुरीका साथ लडेको देखेपछि ब्रिटिश–भारतका अधिकारीहरूले गोर्खालीहरूको वीरता र प्रभावकारी रणकौशलताबाट प्रभावित भै आफ्नो सेनाअन्तर्गत गोर्खालीहरूलाई समावेश गर्ने सोच बनाए।
जनरल अक्टरलोनी र पश्चिमी क्षेत्रका नेपाली सेनाअध्यक्ष अमरसिंह थापाका बीच पश्चिमी क्षेत्रमा भएको १५ मे १८१५ को सम्झौंतामा नेपाली जवानहरूलाई तत्कालीन युद्ध पूर्णरूपमा समाप्त हुनु अगावै पश्चिमी क्षेत्रमा १८१५ मा करिब ४ हजार ६ सय ५० भगौडे नेपाली जवानहरूबाट तीन बटालियन–प्रथम, द्धितीय नर्सरी बटालियनहरू र सिरमौर बटालियन अंग्रेजहरूले खडा गरे।
यसका अतिरिक्त उनीहरूले अर्को चौथो बटालियन कुमाउँ बटालियन खडा गरे। यसरी ब्रिटिश–भारतमा गोर्खा भर्ती प्रारम्भ भयो।
स्थापना कालको करिब तीस वर्षसम्म भारतस्थित अंग्रेजी सेनामा रहेका नेपाली जवानहरू धेरैजसो डाँकाहरू विरूद्ध प्रयोग गराइए तापनि सन् १८१७ को पिँडारीसँगको युद्ध, सन् १८–१७–१८ को मरहठ्डासँगको युद्ध र सन् १८२५–२६ मा भएको भरतपुरको घेराबन्दीमा भने तिनीहरूको समितिरूपमा प्रयोग गरिएको थियो।
गोर्खा बटालियनका जवानहरूको अधिकतम प्रयोग भने सन् १८४५–४६ को प्रथम अंग्रेज–शिख युद्धदेखि सुरु गरिएको थियो। नेपाल सरकारको शिखप्रति सहानुभूति भएपनि ब्रिटिश–गोर्खाले अंग्रेज पक्षमा बफादारीतापूर्वक लडेका थिए।
सुरुमा नेपाल सरकार गोर्खा भर्तीप्रति उत्साहित थिएन। जङ्गबहादुर राणाको उदयपछि खासगरी उनको नेतृत्वमा नेपाल सरकारको फौज समेत सिपाही विद्रोह दबाउन पुगेपछि एशियाली विरूद्ध एशियाली उपयोग गर्न सकिने अंग्रेको अनुभवले गर्दा गोर्खा बटालियन कायमै राख्ने र गोर्खा भर्ती अरू विस्तार गर्ने निर्णय गर्यो।
सन् १९१४ भन्दा अघि गोर्खाली जवानहरूले बजरिस्तान, असम, चीन र अन्य केही क्षेत्रहरूमा सानोतिनो मूठभेडमा मात्र संलग्न हुनुपरेको थियो। तर, सन् १९४१ देखि सुरु भएको पहिलो विश्वयुद्धले गोर्खालीहरू विश्वका प्रमुख युद्ध मोर्चाहरूमा लड्न पुगे।
प्रधानमन्त्री चन्द्रशमशेर राणाले विशेष महत्वका साथ त्यस बेला गोर्खा भर्तीलाई प्रोत्साहित गरेका थिए।
पहिलो विश्वयुद्धको दौरान भारतीय सैनिक सेवामा प्रवेश गरेका ५ लाख १ हजार जवानमा ५५ हजार भन्दा बढी त नेपाली नागरिक नै थिए। यसका अतिरिक्त नेपाली जवानहरू प्रचुर मात्रामा बर्मा तथा असम मिलिट्री पुलिस बटालियनहरू, आर्मी वेटर कर्जस्, लेभर कर्पस् तथा अन्य यस्तै संगठनमा भर्ती गरिएका थिए।
चन्द्रशमशेरको सहयोगबाट थप २० युद्धकालीन बटालियन समेतको निर्माण गर्न सकिएको थियो। करिब २ लाख नेपाली नागरिकहरू भारतस्थित गोर्खा बटालियन र अन्य यस्तै प्रकारको सैनिक संगठनमा सन् १९१४ सम्ममा समावेश भइसकेका थिए।
द्धितीय विश्वयुद्धका बेला प्रधामन्त्री जुद्धशमशेर राणाले झन् बढी सहयोग अंग्रेजलाई जुटाइदिएका थिए। सन् १९३९–४५ मा स्थायी गोर्खा बटालियन २० बाट युद्धकालीन समयमा ३० पुगेको थियो। १ लाख १० हजार रिक्रुटको भर्ती गरिएको थियो।
गोर्खा बटालियनका अतिरिक्त अन्य भारतीय सैनिक इकाहरू समेत मिलाउँदा २ लाख भन्दा बढी नेपाली जवानहरू महत्वपूर्ण मोर्चा उत्तर अफ्रिका, एसियादेखि युरोपका रणक्षेत्रमा लडेका थिए।
याे पनि: श्रीमान् विदेशमा बेपत्ता भएपछि बदलिएको कल्पनाको जिन्दगी (भिडियोसहित)
गोर्खा बटालियनलाई चाहिने नेपाली रिक्रुटका अतिरिक्त जुद्धशमशेरले भारतको सुरक्षाको निमित्त नेपाल सरकारको सेनाको सहायता र युद्धकोषमा प्रशस्त जिन्सी र नगद सहयोगसमेत प्रदान गरेका थिए।
१० वटा भिक्टोरिया क्रस तथा अन्य तक्माहरू समेत गोर्खाली वीरहरूले प्राप्त गरेका थिए।
प्रथम र द्धितीय विश्वयुद्धमा गोर्खालीहरूले प्रदर्शन गरेको युद्ध कुशलता र बलियानबाट गोर्खालीहरू बहादुरमध्ये पनि सर्वश्रेष्ठ बहादुर (ब्रेभेष्ट एमोङ ब्रेभ) कहलिए। तर, युद्ध समाप्ति पछि धेरै गोर्खालीहरूलाई खाली खुट्टा फर्काइयो। युद्धमा घाइतेमध्ये हजारौं अपाङ भई फर्केका थिए।
युद्धकालमा गोर्खा भर्ती संख्या असमान्यरूपमा बुद्धि गरिए तापनि ब्रिटिश–भारतमा सामान्य निम्न १० रेजिमेन्ट र २ बटालियन गोर्खा सैन्य कायम राखेका थिए।
फस्ट किङ जर्ज फिफ्थ ओन गुर्खा राइफल्स् (द मलाउ रेजिमेन्ट), सेकेन्ड किङ एडवार्ड सेवेन्थ ओन गुर्खा राइफल्स (द सिरमोर राइफल्स) र थर्ड क्वीन एलेक्जेन्डर्स ओन गुर्खा राइफल्स सन् १८१५ मा स्थापना भएका थिए।
याे पनि: भारतीय सेनाबाट भागेर आएपछि ईखले चम्किएका दुर्गेश
फोर्थ प्रिन्स अफ वेल्स अन गुर्खा राइफल्स र फिफ्थ गुर्खा राइफल्स भने १८५७ मा स्थापना भयो।
सिक्स्थ गुर्खा राइफल्स सन् १८१७, सेभेन्थ गुर्खा राइफल्स १८३५ मा स्थापना भएका थिए।
एट्थ गुर्खा राइफल्स सन् १८२४, नाइन्थ सन् १८१७ र टेन्थ गुर्खा राइफल्स सन् १८९० मा स्थापना भएको थियो।
सन् १९४७ मा भारत स्वतन्त्र हुने भएपछि तत्कालीन गोर्खा रेजिमेन्ट्सलाई अधिनस्थ भारत र ब्रिटेनले भागबण्डा गरे। जसअनुसार १० मध्ये ४ रेजिमेन्ट ब्रिटेन जाने र ६ रेजिमेन्ट भारतमै बस्ने तय भयो।
दोस्रो छैटौं, सातौं र दशौं रेजिमेन्ट्स ब्रिटेन गयो भने प्रथम, तेस्रो, चौथो, पाँचौ, आठौं र नवौं रेजिमेन्ट्स भारतमै बस्यो।
ब्रिटिश–भारतमा रहेका गोर्खालीहरू बेलायत र भारतबीच भागबण्डाको वस्तुसरह विभाजित भएर दुईतिर रहनुपनि एक अनौठो बिडम्बना नै भयो।