काेराेना भाइरस: ज्यान गुमाउनेकाे संख्या २५ पुग्याे

चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ। साथै आठ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन्। 

मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेको पनि जनाइएको छ।

कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो। हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियमन गरिएको छ। 

चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको संक्रमण फैलिएको छ। स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको बताएको छ। यसका साथै मानिसहरुको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीहरुले जानकारी दिएका छन्। 

कोरोना भाइरसको प्रकोप बढेसँगै बेइजिङ र हङकङले केही ठूला चाडपर्वहरुको आयोजना रद्द गरेका छन्। चिकित्सकहरुले यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने बताएपछि मानिसको ठूलो भिड एकसाथ भेला हुन रोक लगाइएको हो। 

बिहीबार अमेरिकाले कोरोना भाइरसको दोस्रो संदिग्ध घटनामा अनुसन्धान भइरहेको बताएको छ। जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन्। यस्तै दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस संक्रमणका एक–एक जना भेटिएका छन्।
 

प्रकाशित मिति: : 2020-01-24 21:15:38

प्रतिकृया दिनुहोस्