उपत्यकाबाट सुरु भयो कौसी खेतीको शुभारम्भ, यस वर्ष दुई हजार घरमा कौसी खेती

कृषि मन्त्री लामाले उपत्यकास्थित प्रधानमन्त्री निवास तथा सांसदका क्वाटरमा मात्रै नभएर कृषि मन्त्रालयअन्तर्गत काम गर्ने सम्पूर्ण कर्मचारीको घरमा कौशी खेती लगाउनु पर्ने बताए।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बिहीबार काठमाडौं क्षेत्र नं. १ बाट कौशी खेतीको सुभारम्भ गरेका छन्। नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रमबीच कौशी खेती शुभारम्भ गरिएको हो। सोही अवसरमा हाइड्रोपोनिक, एरो पोनिक्स र माटो विनाको कौशी खेतीको डेमोस्ट्रेशन पनि गरिएको थियो। नयाँ बानेश्वर निवासी प्रदेश सांसद गणेश दुलाल लगायत झण्डै चार दर्जन महिलाको समेत उपस्थिति रहेको थियो। 

कृषि मन्त्री लामाले उपत्यकास्थित प्रधानमन्त्री निवास तथा सांसदका क्वाटरमा मात्रै नभएर कृषि मन्त्रालयअन्तर्गत काम गर्ने सम्पूर्ण कर्मचारीको घरमा कौशी खेती लगाउनु पर्ने बताए। उनले भने, ‘उपत्यकाबासीले कम्तीमा ५० प्रतिशतमात्रै आयात प्रतिस्थापन गर्न सकेमा नेपालको तरकारी तेश्रो मुलुकमा निर्यात गर्न सकिनेछ। 

‘बढ्दो प्रदूषण निवारणको एउटा विकल्प कौशी खेती हुन सक्छ’, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.योगेन्द्र कार्कीले भने, ‘कौशी खेती गर्नेले हरियो सागसब्जी चाही किन्न पर्दैन। उपत्यकाबासीलाई यो सुनौलो अवसर छ। यसको सदुपयोग गर्नुहोला।’ 

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञान केन्द्र ललितपुरले उपत्यकाका तीन जिल्लाका झण्डै दुई घरलाई यो वर्ष कौशी खेतीका लागि ५० प्रतिशत अनुदान दिने भएको छ। ज्ञान केन्द्रका प्रमुख निर्मल गदालका अनुसार राम्रोसँग कौशी खेती गर्ने हो भने हरेक घरले तरकारी नै किन्न पर्दैन तर थोरैथोरै गर्दा पनि धेरै तरिकाबाट फाइदा पुग्नेछ। 

कौशी खेतीका प्रवर्द्धक खोजराज कटवालले कौशी खेती प्रविधिको प्रयोगात्मक प्रदर्शनी गरेर उपस्थित सहभागी महिलाको जिज्ञासा मेटाएका थिए। प्रदेश सांसद गणेश दुलालले भने, ‘माटो रहित यो प्रविधिले घरको छतमा खासै वजन नहुने हुँदा हामी यसलाई सफल बनाएरै छाड्छौ।’ कृषि ज्ञान केन्द्रले यस अभियानको नारा ‘तरकारी बिना म खाना खान्न, तरकारी म किनेर खान्न, कौसी करेसा खाली हुन दिन्न’ तय गरेको छ।

 

प्रकाशित मिति: : 2020-01-24 11:12:09

प्रतिकृया दिनुहोस्