फरार सूचीमा रहेकी गायिका आस्था राउतलाई प्रहरीले नपक्रने !

प्रहरी भन्छन्– आमाबाबुले प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता व्यक्त गरे

बिएल संवाददाता

काठमाडाै‌ं

प्रहरीले फरार सूचीमा राखेको गायिका आस्था राउत नपक्रने भएको छ। 

आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत एक महिला प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंलेमा उजुरी गरेपछि पक्राउ पुर्जी जारी  भएको थियो।

अहिले कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा रहेकी आस्थालाई प्रहरीले स्वदेश फर्कनसाथ  पक्राउ गर्ने बताएको थियो।

तर आस्थाका आमाबुवाले प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका कारण नेपाल छिर्नासाथ नपक्रिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए।

‘उहाँलाई कार्यालय हाजिर गराउने अभिभावकको प्रतिवद्धता आए प्रहरी सहयोग गर्न तयार छौं,’ सुवेदीले भने।

के भएकाे  थियाे?

माघ १ गते बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन्। सो क्रममा उनी आन्तरिक टर्मिनलको सुरक्षाकर्मीले जाँचका क्रममा उनलाई ज्याकेट फुकाल्न लगाएका थिए।

बिएल नेपाली सेवालाई प्राप्त भएको सिसिटिभी फुटेज अनुसार हातमा कफीको कप बोकेर आएकी राउतलाई ड्यूटीमा खटिएकी महिला जवान रमिला श्रेष्ठले सामान्य चेकजाँचको लागि ज्याकेट फुकाल्न लगाउँदा राउतले नै महिला प्रहरीमाथि तथानाम शव्द प्रयोग गरेकी थिइन्। राउतलाई प्रहरी जवान श्रेष्ठले आवश्यक चेकजाँचको लागि उनलाई ज्याकेट खोल्न लागाउँछिन्। राउतले हातमा बोकेको कफीको कप प्रहरी जवान श्रेष्ठले हातमा लिदैँ उनलाई बाहिर जान निर्देशन दिन्छिन्। लगतै राउतले पनि रिसाउँदै ज्याकेट खोल्न उनी चेकजाँच रुमबाट बाहिर निस्किन्छिन्। 

हतारमा राउत फेरि चेकजाँच रुममा आउँछिन्। उनलाई प्रहरी जवान श्रेष्ठले चेकजाँच गरेर जान निर्देशन दिन्छिन्। राउत आफ्नो ज्याकेट लिँदै बाहिरिदै गर्दा उनलाई प्रहरी जवान श्रेष्ठले कफीको कप हातमा थमाउछिन्,तर राउनले उक्त कप लिन अस्विकार गर्छिन्। पछि प्रहरीले झोलामै कफी हाल्न खोजेको जस्तो पनि देखिन्छ। उनीहरुबीच केही बेर भनाभन हुन्छ र राउत फथफताउँदै नजिकै बसेको अर्का प्रहरीलाई ठाडो औँला देखाउँदै पुनः ज्याकेट लगाएर जान्छिन्। अन्त्यमा कफी टेबलमा राखेर महिला प्रहरी आफ्नो ड्यूटीमा जान्छिन्।

त्यसपछि काठमाडौंबाट भद्रपुर पुगेपछि गाडीमा चढेको बेला आस्थाले फेसबुकमा लाइभ गरेकी थिइन् र आफूमाथि विमानस्थलमा दुर्व्यवहार भएको भन्दै प्रहरीको चर्को आलोचना गरेकी थिइन्।

भिडियोमा आक्रोशित हुँदै उनले भनेकी छन्, ‘मलाई आजसम्म घरका बाबुआमाले त तँ भन्न सकेका छैनन्। त्यो डन्ठेले तँ भन्ने? त्यो डन्ठेलाई भेटाएँ भने त त्यसको डन्डा मुखबाट छिराएर काँ निकाल्दिन्छु मा sss कस्सम....’

उनी आक्रोशित हुँदै प्रहरीभित्र दुर्गन्ध भएको आरोप लगाएकी छन्। उनले अघि भनिन्, तिमीहरूको विमानस्थलबाट ज्यानमारा छिर्छ। ड्रग्स छिर्छ। सुन छिर्छ। तर एउटा महिलामाथि गर्ने व्यवहार यही हो? कलाकारको सम्मान छैन। गोजीमा छाम्नुस् न त तपाईं, मलाई ढिलो भइसक्यो भन्दा, खोल ज्याकेट रे। त्यही हो बोल्ने पारा? यो प्रहरी साथी भन्ने शब्द हटा त।’

उनले आफ्नो पनि घरमा प्रहरी भएकाले प्रहरीलाई सम्मान गर्ने गरेको भन्दै प्रहरीले पनि अरुलाई सम्मान गर्न सुझाव दिएकी छिन्। ‘हामीलाई हजुर चाहिएन। तर डन्ठेहरूले, बन्दुकेहरूले तँ भनेको सह्य हुँदैन। सम्मान गर र सम्मान लिन सिक( गिभ रेस्पेक्ट टेक रेस्पेक्ट)। गल्तीविना तँ तँ भनेर गालीगलौजमा उत्रिनु राम्रो होइन। माथिका हाकिमहरूले तलका कर्मचारीलाई राम्रोसँग पढाऊ न यार.....। अरुलाई चाहिँ तँ ए भन्ने, अनि हामीले चाहिँ तिमीहरूलाई सम्मान गर्नुपर्‍यो?,’ उनले भनेकी छन्।

उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अर्को दिन प्रहरीले विमानस्थलमा भएको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरेको थियो।

उक्त भिडिओ बाहिर आएपछि आस्थाले अर्को फेसबुक लाइभमा रूँदै माफी पनि मागेकी थिइन्।

प्रकाशित मिति: : 2020-01-23 00:13:43

प्रतिकृया दिनुहोस्