अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरूद्धको महाअभियोगको छलफललाई सिनेटमा अगाडि बढाउने क्रममा राष्ट्रपति ट्रम्पको कानूनी टिम र सभामुख पेलोसीको व्यवस्थापक समूह आम्नेसाम्ने भएका छन्।
सिनेटमा ब्रिफिङ पेस गर्ने क्रममा उनीहरू आम्नेसाम्ने भएका हुन् ।
राष्ट्रपति ट्रम्पको कानुनी टिमले सिनेटले तत्काल ट्रम्पलाई आरोपमुक्त गर्नुपर्ने माग गरेको छ । टिमले राष्ट्रपतिमाथि लगाइएको महाअभियोग अमेरिकी संविधानको ‘खतरनाक विकृतिकरण’ भएको बताएको छ।
उता, सभामुख पेलोसीको व्यवस्थापक समूहले भने राष्ट्रपति ट्रम्प ‘आउँदो चुनावमा दखल गर्नका लागि भ्रष्ट गतिविधिमा संलग्न’ भएको बताएको छ। टिमले अमेरिकाको अर्को चार वर्ष अपहरण गर्न नदिन पनि ट्रम्पलाई महाअभियोग लगाएर निकाल्नुको बिकल्प नभएको बताएको छ ।
यसैबीच, सिनेटमा बहसलाई अगाडि बढाउने प्रक्रियालाई लिएर सिनेटमा बहुमतका नेता मिच म्याकनेल र अल्पमतका नेता चक सुमरबीच पनि विवाद चुलिएको छ। म्याकनेलले दुबै पक्षमालाई २४ घण्टाको समय दिएर दुई दिनमै छलफल टुंग्याउने कार्यतालिका सार्वजिनिक गरेका छन् । यसमा असहमति जनाउँदै अल्पमतका नेता सुमरले कार्यतालिका राष्ट्रपतिलाई उन्मुक्ति दिने किसिमले आएको भन्दै त्यसको भत्सर्ना गरेका छन्।
असहमतिका बीच सिनेटमा मंगलबार अपरान्हदेखि बहस सुरू हुने बताइएको छ ।