निर्भया बलात्कार र हत्यामा संलग्नलाई मृत्युदण्ड दिने मिति सारियो

निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड दिने मिति पर सारिएको छ। नयाँ दिल्लीमा २३ वर्षकी एक मेडिकल छात्रा निर्भयाकाे सन् २०१२ को डिसेम्बर १६ मा गुडिरहेको बसमा भएको सामूहिक बलात्कार र हत्या घटनाका दोषीहरूको मृत्युदण्ड दश दिन पर सरेको हो।

यसअघि जनवरी २२ अर्थात माघ ८ गतेको लागि फाँसीको सजाय सुनाइएको थियो। तर, दोषी मध्येका मुकेश सिंहले दिएको जीवन रक्षाको अपील राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार खारेज गरेपछि उनीहरूको मृत्यदुण्ड निश्चित भएको हो।

पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चार जना दोषीहरुलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइनेछ। अदालतले दोषी ठहर गरेका अक्षय सिंह, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई बिहान ६ बजे फाँसी दिइने अदालतले जनाएको हो।

घटनामा संलग्न मुकेशका दाजु राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन्। 

 

प्रकाशित मिति: : 2020-01-18 11:46:52

प्रतिकृया दिनुहोस्