उपसभामुखले भनिन्- दलबाट उम्मेद्वार एकिन नभई राजीनामा दिन्नँ

संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजनीतिक दलहरुले सभामुखको उम्मेद्वार तय गरेर घोषणा नगरुन्जेल आफूले राजीनामा नदिने बताएकी छन्।

सोमबार आफ्नै कार्यकक्षमा केही पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले अहिले राजीनामा दिनु संविधानको व्यवस्था अनुसार गलत हुने बताइन्।

‘सभामुख रिक्त नहुने संविधानको परिकल्पनालाई हामीले ग्रहण गर्नुपर्छ, जबसम्म दलले उम्मेदवार टुङ्ग्याएर मेरो उम्मेदवार यो हो भनेर अगाडि सार्दैन, त्यतिबेलासम्म उपसभामुखले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छाड्ने पक्षमा म छैन,’ उनले भनिन्।

संविधानले संघीय संसदको प्रतिनिधि सभा नेतृत्व विहिन हुने कल्पना नगरेकोले पनि आफूले राजीनामा दिन नहुने बताइन्। राजनीतिक दलहरुले जति छिटो सभामुख पदका लागि उम्मेदवार तयार गर्छन् त्यति नै बेला आफूले राजिनामा दिएर मार्ग प्रसस्त गर्ने पनि बताइन्।

अहिलेको गतिरोध अन्त्य गर्ने वा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने भन्ने निर्णय अहिले प्रतिनिधिसभामा बहुमत प्राप्त दल नेकपाको हातमा रहेको उल्लेख गर्दै उनले भनिन्, ‘विभिन्न परिस्थितिका कारण व्यवस्थापिका जस्तो महत्वपूर्ण स्वतन्त्र संस्थाको नेतृत्व प्रदान गरिरहेको व्यक्तिलाई कुनै दल विशेषले नेतृत्वबाट बाहिर जाउ भनेर निर्देशन जारी गर्न संविधान त मिल्दैन।’

उनले अहिले आफू कुनै राजनीतिक दलको सदस्य नभएकाले कुनै पनि दलको निर्देशन आफूमाथि लागू नहुने पनि बताइन्।

मैले स्वतन्त्र ढङ्गबाट प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्नुपर्छ, त्यो गरिरहेको छु । कसैको प्रभावमा पर्दिन र डर नमानी काम गर्छु भनेर शपथ लिएको थिएँ। अझै पनि केही समय राजीनामा गर्ने पक्षमा म छैन।
-उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे

‘प्रतिनिधिसभामा रहेर मैले काम गरिरहेको अवस्थामा म स्वतन्त्र व्यक्ति हो, जतिबेला दलले उम्मेदवार बनायो र म निर्वाचित भएँ, त्यसलगत्तै मैले दलको साधारण सदस्य नरहने गरी दल त्याग गरेकी हुँ’, उनले भनिन्, ‘मैले स्वतन्त्र ढङ्गबाट प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्नुपर्छ, त्यो गरिरहेको छु । कसैको प्रभावमा पर्दिन र डर नमानी काम गर्छु भनेर शपथ लिएको थिएँ। अझै पनि केही समय राजीनामा गर्ने पक्षमा म छैन।’

उनले संविधान नै नेपालमा सबैभन्दा ठूलो भएकाले यसले निर्देशन गरेर राष्ट्र र सरकार चल्छ भने सबै त्यसैका आधारमा चल्नुपर्ने बताइन्।

अहिले संसदमा देखिएको गतिरोध आफ्नो कारणले नभई दलहरुले निर्णय गर्न नसक्दाको परिणाम भएको बताउँदै उनले संवैधानिक पदमा बसेको व्यक्ति भएकाले गैर–जिम्मेवार भएर प्रतिनिधिसभालाई नेतृत्व विहिन बनाउने पक्षमा आफू नरहेको पनि बताइन्।

प्रकाशित मिति: : 2020-01-14 08:08:56

प्रतिकृया दिनुहोस्