प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन्।
आजै दिउँसो हुने प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन्।
हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन्।
उक्त प्रस्तावलाई समर्थन गर्नेमा प्रतिपक्ष दलका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ रहेकी छन्।
यसैगरी काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने विवेकशील साझा दलका नेता रमेश पौडेल प्रस्तावक रहेका छन्। समर्थकमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्य छन्।
सचिवालयमा प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै हेटौँडालाई राजधानी बनाउन साझा सहमतिका आधारमा प्रयास गरिएको र सबै दलसँग सहमतिका लागि वार्ता भइरहेको बताए।
यसैगरी प्रतिपक्ष नेपाली काँग्रेसका नेता बानियाँले ३ नं प्रदेशको राजधानी हेटौँडालाई राजधानी बनाउन सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रह त्यागेर अघि बढ्नुपर्नेमा जोड दिए। प्रदेशसभामा ११० जना सदस्य छन् भने हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना छन्।