युक्रेनको विमान मिसाइलले खसालेको हो, प्रमाण मसँग छ: क्यानडाका प्रधानमन्त्री

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले इरानी मिसाइलका कारण तेहराननजिकै विमान दुर्घटना भएको दाबी गरेका छन्। यसको प्रमाण आफूसँग भएको उल्लेख गर्दै यसबारे छानबिन गर्न उनले माग गरेका छन्।

‘युक्रेनको विमान इरानको जमिनबाट हावामा हानिने मिसाइलका कारण दुर्घटना भएको हो’, ट्रुडोले भनेका छन्, ‘यो कसरी भयो भन्नेबारे अनुसन्धान हुनुपर्छ। ’ ट्रुडोको भनाइमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि सहमति जनाएका छन्।

युक्रेन इन्टरनेशनलको विमान इरानले इराकस्थित अमेरिकी हवाई अखडामा हमला गरेको केही घण्टापछि नै गत बुधबार दुर्घटना  भएको थियो। तेहरानस्थित इमाम खुमेनी विमानस्थलनजिकै भएको दुर्घटनामा १ सय ७६ जनाको मृत्यु भएको थियो। जसमा क्यानडाका मात्रै ६३ नागरिक थिए।

अमेरिकाले इरानका कारण विमान दुर्घटना भएको आरोप लगाए पनि इरानले यसको खण्डन गरेको थियो। विमान विशुद्ध प्राविधिक कारणले दुर्घटना भएको उसको भनाइ थियो।

तर, क्यानडाका प्रधानमन्त्री ट्रुडोले प्राविधिक कारणले नभएर इरानको कमजोरीका कारण विमान दुर्घटना भएको जिकिर गरेका छन्। ट्रुडोले केही महत्वपूर्ण माध्यमबाट आफूलाई युक्रेनको विमान इरानले जमिनबाट मार हान्ने मिसाइलले आक्रमण गरी खसालेको खबर पाएको बताएका छन् ।

यद्यपि इरानले भने यी सबै आरोप नकारेको छ। इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेहले भने,'विमानको ‘ब्लाक बक्स’ बिग्रिएको भेटिएको इरानी प्राविधिकले बताएका छन्। दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा देखिनेगरी नै क्षति भएको पाइएको पनि देखिन्छ।'

विमान दुर्घटनापूर्व विमान चालकबाट कुनै पनि ‘असामान्य अवस्था’ को रेडियो सन्देश प्राप्त नभएको प्रारम्भिक अनुसन्धानपछि थाहा भएको इरानी अधिकारीले बताएका छन्।

इरानले युक्रेन र सम्बन्धित देशका प्रतिनिधिहरूलाई दुर्घटनाको बारेमा मूल्याङ्कनका लागि आमन्त्रित पनि गरेको स्थानीय सञ्चारमाध्यमले आबेदजादेहलाई उद्धृत गरी लेखेका छन्।  

इरानी प्रतिवेदनमा बुधवार विमान आठ हजार फिटमाथि आकाशमा रहेका समय विमानले राडारसँगको सम्पर्क गुमाएको र त्यसको केही छिनमा नै दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको छ।

विमान दुर्घटना हुनुभन्दा अघि विमानबाट आगो निस्केको प्रत्यक्षदर्शी स्थानीयले बताएका अबेद्जादेहले स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएका छन्। विमान दुर्घटनास्थललाई हेर्दा चालकले विमानमा समस्या देखेपछि उनले विमानको दिशा बदल्दै र एयरपोर्टतर्फ फर्किएको अनुमान, अधिकारीले गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ।
 

प्रकाशित मिति: : 2020-01-10 21:10:38

प्रतिकृया दिनुहोस्