बलात्कार आरोपी सिद्धबाबाद्धारा साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्न माग

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई यही मुद्दामा तीन लाख रुपैयाँ धरौटीमा छाड्न पुस १४ मा आदेश दिएको थियो। 

जवरजस्ती करणी मुद्दामा जिल्ला अदातल सुनसरीले धरौटीमा छाड्न आदेश दिएको सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीले आफूलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गरिनु पर्ने माग राखेका छन्। 

उच्च अदालत विराटनगरमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार निवेदन दिँदै उनले यो माग राखेका हुन्। महिला अनुयायीलाई सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा बोलाएर कात्तिक ४ मा  बलात्कार गरेको घटनामा उनीविरूद्ध अनुसन्धान गर्दै प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जवरजस्ती करणी मुद्दा दर्ता गराएको थियो । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई यही मुद्दामा तीन लाख रुपैयाँ धरौटीमा छाड्न पुस १४ मा आदेश दिएको थियो। 

उक्त आदेश बेरितको रहेको भन्दै बदर गरिपाउँ भन्ने मागसहित उनको निवेदन उच्चमा पुस १६ मा परेको हो। उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार बेरितको आदेश बदर र प्रतिवादी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग राखेर निवेदन दिएको हो ।

निवेदन १७ मा उच्च अदालतमा दर्ता भएको थियो । अदालतले सबै व्यहोरा र विवरण खुलाएर १५ दिन भित्रमा मिसिल साथै राखी कैफियत प्रतिवेदन गर्न जिल्ला अदालतलाई १८ मा आदेश दिएपछि जिल्लाले कैफियत प्रतिवेदन पनि पठाइसकेको छ। 

सरकारी वकिल कार्यालयले सिद्धबाबाका सन्दर्भमा जिल्लाको आदेश बेरितको रहेको दाबी गरिरहेका बेला धरौटीमा छुटेका अभियुक्त सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पुर्पक्ष गरिनु पर्ने माग राखेर निवेदन दिएका हुन् । 

उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाका अनुसार एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा लगाउमा राख्न बुधबार आदेश दिएका छन् ।

पक्ष विपक्ष दुईवटा भए पनि मुद्दा अन्तरसम्बन्धित भएकाले भिन्दा भिन्दै सुनुवाई नगरिकन सँगै राखेर सुनुवाई गर्नु पर्ने भएपछि मुद्दा लगाउमा राखिएको थपलियाको भनाइ छ । सुनुवाईका लागि मुद्दाको पेसी अगामी बिहीबारका लागि चढेको छ । मुलुकी फाैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ । 

बलात्कार आरोपको अनुसन्धान अवधि विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा गुजारेका सिद्धबाबा गत आइतबार डिस्चार्ज भएपछि चतरा नै गएर बसेका छन् ।

बलात्कार आरोपपछि बिरामी भएको भन्दै उनी मंसिर १२ गतेबाट अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा ३८ दिनसम्म अस्पतालमा रहेका उनको अनुसन्धान अवधि प्रहरी हिरासतमा नबसिकन वित्यो । 
 

प्रकाशित मिति: : 2020-01-10 10:23:18

प्रतिकृया दिनुहोस्