इराकस्थित अमेरिकी सैन्य बेस क्याम्पमा इरानद्धारा हमला, अमेरिकी सुरक्षा एजेन्सीकाे बैठक बस्दै

इरानको फार्स न्युज एजेन्सीले अमेरिकी बेस क्याम्पमा हमला गर्न इरानले फतेह–३१३ मिसाइल प्रयोग गरेको बताएको छ।

बिएल संवाददाता

वासिङ्टन/तेहरान/बगदाद

इरानले आफ्नो जर्नेल कासिम सुलेमानीको हत्याको बदला लिन बुधबार बिहान इराकस्थित अमेरिकी सैन्य क्षेत्रमा हमला गरेको छ। इरानले अनबर प्रान्तमा रहेको ऐन अल–असद बेस क्याम्प र इरबिलमा एक ग्रीन जोन (अमेरिकी सैन्य क्षेत्र) मा १२ भन्दा बढी ब्यालेस्टिक मिसाइल झारेको पुष्टी इरानी सञ्चार माध्यमले गरेका छन्।  

न्युज एजेन्सी एएफपीका अनुसार यो घटनालगत्तै इराकको आकाशमा सैन्य जेट प्लेन देखा परेका थिए। अमेरिकाले इरान–इराकको आकाशबाट आफ्नो देशको उडान सेवा बन्द गरेको फेडरल एभिएशनले बताएको छ। उसले इरान, इराक र ओमानको खाडीतर्फ जाने आफ्ना नागरिकलाई नोटाम (नोटिस टू एयरम्यान) जारी गरिसकेको छ। अमेरिकाले अहिले पश्चिम एशियामा विशेष ध्यान केन्द्रित गरेको छ। 

इरानले अमेरिकी सहयोगीलाई पनि दियो धम्की 

इरानी सरकारी मिडियाका अनुसार इराकको अमेरिकी बेस क्याम्पमा भएको हमला जर्नेल सुलेमानीको हत्याको बदला स्वरुप हो। इरानको रिभोल्युशनरी गार्ड्सले विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, ‘हामी अमेरिकाको सबै सहयोगी राष्ट्रलाई चेतावनी दिन चाहन्छौं, अमेरिकालाई आफ्नो बेस उपलब्ध नगराउँ। यदी उनीहरूले आफ्नो कुनै पनि क्षेत्र इरानविरूद्ध प्रयोग गर्न दिन्छन् भने उनीहरू पनि हाम्रो निशानामा पर्नेछन्।’

इरानको फार्स न्युज एजेन्सीले अमेरिकी बेस क्याम्पमा हमला गर्न इरानले फतेह–३१३ मिसाइल प्रयोग गरेको बताएको छ। यसले जमीनबाट जमीनमा मार हान्न सक्ने क्षमता राख्छ। 

इरानले अमेरिकी बेस क्याम्पमा हमला गरेपछि यति बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारको नेतृत्वमा सुरक्षा एजेन्सीको बैठक बोलाएका छन्। अमेरिकी संविधानले कुनै देशमा सीधै सैन्य कार्यवाही गर्ने अधिकार राष्ट्रपति र कांग्रेस (संसद) लाई दिएको छ। जहाँ संसदले कुनै पनि देशविरूद्ध युद्धको घोषणा गर्न सक्छ। यस्तै, राष्ट्रपतिले देशको सुरक्षाका लागि सेनाको प्रयोग गर्न सक्छन्। 
 

प्रकाशित मिति: : 2020-01-08 21:19:47

प्रतिकृया दिनुहोस्