जापानी प्रधानमन्त्री आबेले मध्यपूर्वको भ्रमण गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

जापानका प्रधानमन्त्री सिन्जो आबेले अर्को हप्ता मध्यपूर्वका तीन देशको भ्रमण गर्ने भएका छन्।

अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्यूनीकरणका लागि साउदी अरब, ओमान र युएईको भ्रमण गर्न लागेका हुन्। आबे यही जनवरी १२ देखि जनवरी १५ सम्म मध्यपूर्वको भ्रमणमा जाने बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले एक अर्कालाई कडा चुनौती दिएपछि मध्यपूर्वमा तनाव बढ्ने आशंका गरिएको छ।

जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार प्रधानमन्त्री आबेले शान्ति स्थापनाका लागि कुटनीतिक पहल गर्ने छन्।

इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको गत शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो। त्यसको जवाफमा इरानले अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमणसमेत गरेको छ।

चीन, रुस र सिरियाले अमेरिकाको आलोचना गर्दै दुवै देशलाई संयमता अपनाउन आग्रह गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-01-08 21:05:35

प्रतिकृया दिनुहोस्