महानगर कप भलिबल: ललितपुर, गोदावरी र कागेश्वरी मनोहरा विजयी

काठमाडौं, ललितपुर महानगरपालिका तथा गोदावरी र कागेश्वरी मनोहरा नगरपालिका महानगर कप भलिबल प्रतियोगितामा विजयी भएका छन्। जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुष भलिबलमा ललितपुरले भक्तपुर नगरपालिकालाई, गोदावरीले धुलिखेल नगरपालिकालाई तथा कागेश्वरी मनोहरा नगरपालिकाले कीर्तिपुर नगरपालिकालाई पराजित गरेको हो।  

    ललितपुरले भक्तपुरलाई ३२–३०, २५–२७, २५–१६ र २५–२१ अंकले हराएको हो। अर्को खेलमा गोदावरीले धुलिखेल नगरपालिकालाई २५–१२, २५–२२ र २५–२३ अंकले पराजित गर्यो। तेस्रो खेलमा कागेश्वरी मनोहरा नगरपालिकाले कीर्तिपुर नगरपालिकालाई २५–१०, २५–१० र २५–६ अंकले हरायो।

यस्तै महिलातर्फ बनेपा नगरपालिकाले गुप्तेश्वर नगरपालिकाबाट वाक ओभर पायो भने ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाबीचको खेल वर्षाको कारण स्थगित भयो। ललितपुर महानगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ टोली सहभागी छन्।

दुवै स्पर्धाका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार, चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन्।  पुरुष र महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक दिनेश कार्कीले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-01-05 09:54:20

प्रतिकृया दिनुहोस्