कविता
बरू
देख्न सके
एकपटक
फुटेको ओठ नै देख्न पाउँ
कमसेकम
मलाई पनि लाली हुन
रहर जाग्थ्यो कि
त्यही ओठसम्म पुग्न पनि!
सोच्छु-
आफैं छान्न पाए त
यो लालीले
कुन ओठ रोज्थ्यो होला
फुटेकै भए पनि!
फुटेको होस या त उछ्रेको होस ओठ
के पो फरक पर्ला र नि !
ती पिपलपाते कोमल ओठ खुलेर बोल्दा
त्यो भन्दा मिठो धून अरु के होला र !
अनि त लाग्छ ,
तिनै फुटेकै ओठको गुलाबी लाली बनूँ!
बन्द हुँदा ती ओठ ,
लाग्छ , अमूर्त बोली
ती निश्चल अनि निर्दोष आँखामा चल्केका छन्
अनि मलाई नै हेर्दै छन्
हिउँदमा त झन्
कठ्यांग्रिने चिसोले
फुट्दो हो,
ती नरम ओठ
बोल्न नि सकश पर्दो हो
अनि ती पाप्रा निस्केर
टिलपिल रगत नि निस्कँदो हो
त्यतिबेला ,
तिमी नि त्यही उजाड रुखजस्तै होलाऊ है
मरुभूमिजस्तै चिराचिरा परेको
अनि म सोच्छु
त्यति बेला नि मलाई तिम्रो ओठ
मन पर्ला कि नपर्ला !
अन्तिम पटक देखेको
सात समुद्रपारी उड्न लाग्दा सायद
त्यो गुलाबी लाली
अलिकति मुस्कान
अलिकति पीडा
आजकल त फगत
फोटोमा देख्छु
कहिले सुखा त कहिले फुटेको
माया,
आफैंलाई नढाटीकन भन न
त्यो ओठको रसिलोपन
त्यो नरमपन
कता हरायौ तिमीले ?
कि त कतै बिर्सियौ ?
कि त जिन्दगीको यात्रा
अनि रहरबीच गुम्सायौ ?
हल्का मरुन लालीले
बनाउने त्यो छुचीपन
अनि त्यो कलेटी ओठ
कहीं पनि त देखिन्न
फुटेकै सहि बरु ओठ
ती कलिला रहर चाहिं
नफुटाऊ न ल
किनकी त्यो ओठमा
मेरो पनि अलिकति हाँसो
मिसिएको छ
तिम्रो फुटेको ओठ
लाली बिनाको रहर
तिमीलाई पटक्कै सुहाउन्न
जतिजति ती फुटेको ओठ
हेर्छु
उति नै पटक
मुटु चर्किन्छ
बरु
सक्छौ भने माया ,
एउटा सेल्फी पठाऊ न ल
जसमा हल्का गुलाबी लाली होस्
हल्का मुस्कान होस्
अनि ओठ चाहिं
नफुटेको होस् …