दिउँसो बाह्र बजे जब स्कुले विद्यार्थीहरू आएर टुँडिखेलमा आयोजित कार्यक्रमस्थलको अघिल्लो लाइनमा बसे। त्यही बेला प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आफ्नो सफा हात रातो रंग भएको थालमा चोबेर सेतो कपडामा छाप लगाइन् र भनिन्, 'छाउपडी प्रथा कुसंस्कार र कुरीति हो। यसलाई उन्मुलन गर्न म मनैदेखि प्रतिबद्ध छु।'
सहभागी सबैले उसै गरे। एकैछिनमा सेतो कपडामा विभिन्न रंगमा हातका छाप बसे। सबैले भनिरहेका थिए, 'यहाँ छाउपडी उन्मुलन गर्नलाई प्रतिबद्ध भएको मन बसेको छ।'
त्यसपछि बन्यो प्रतिबद्धताको मानव साङ्लो। राष्ट्रिय झण्डा अंकित मानव सांङ्लो बनेपछि छाउपडी प्रथा जस्तो कुसंस्कार र कुरीति अन्त गर्ने महाअभियानको सरकारी तवरबाटै थालनी भयो।
महाअभियानलाई कर्णाली स्वास्थ्य विज्ञानले साथ दिने भयो। महिनावरी हुँदा स्वास्थ्यको ख्याल राख्नुपर्ने विषयमा आफ्नो भूमिका रहने गरि।
कर्णाली स्वास्थ्य प्रतिष्ठानकी स्त्रीरोग विशेषज्ञ डा. शर्मिला श्रेष्ठले पौष्टिक आहारको आवश्यकता पर्ने तथा सबैको सहयोग चाहिने बेला गोठमा बस्नाले महिलाहरू दोस्रो दर्जाको जस्तो देखिने हुनाले छाउपडी उन्मुलनको लागि प्रतिबद्ध हुनुपर्छ।
'महिनावरी व्यवस्थापन गर्नुपर्छ भनेर सिकाउनुपर्ने बेलामा हामी महिलाहरूलाई गोठमा राखिरहको छौं। यो हाम्रो समस्या हो। यसले शारीरिक अस्वस्थता मात्र होइन। मानसिकतामा पनि समस्या हुन्छ', उनले भनिन्, 'खानपिनमा ध्यान दिने, स्वास्थको ख्याल गर्ने गरौं। हामीलाई केही हुन्न।'
महिनावरी चक्र जस्तो स्वभाविक प्रक्रियालाई निउ बनाएर छुईछाई गर्नू, गोठमा बसाल्नु र भेदभाव गर्नू कानुनी रुपमा अपराध भएको बताउँछन् सरकारी वकिल कार्यालयका निमित्त न्यायाधिवक्ता पुण्यप्रसाद पाठक। 'यदि कसैले महिनावरीको नाममा छुइछाई गर्यो, भेदभाव गर्यो, अमानवीय व्यवहार गर्यो भने त्यसलाई तीन महिना जेल सजाय वा तीन हजार रुपियाँ जरिवाना वा दुबै सजाया हुन्छ', उनले भने, 'यदि सरकारी कर्मचारीले छाउपडी मानेको खण्डमा थप तीन महिना जेल सजाय हुने प्रावधान छ भने यो सरकारवादी मुद्दा हो। थाहा पाउने जोसुकैले मुद्दा गर्न सक्छ।'
छाउपडी कुप्रथाले अत्ति गरेकाले कानुनको कार्यान्वयनमा कुनै पनि खालको लचकता नअपनाउने प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताए।
'हामी छुइ मान्नेलाई कानुनी दायरामा ल्याउन तयार छौं। यदि कसैले महिलामाथि अमानवीय व्यवहार गरेको छ। छुई भएको बेला गोठमा राखेको छ भने कृपया देख्ने, भाग्ने सबैले हामीलाई खबर गर्नुहोस्। हामी कडा कारबाही गर्न तयार छौं,' उनले भने।
मध्य तथा सुदूरपश्चिममा छाउपडी प्रथा रहेको भनिए पनि हिमालमा बस्ने जनजाति समुदायले बार्ने गरेको छैन। जनजाति समुदायमा छुई मान्ने चलन छैन भन्दै भोटे समुदायकी छिरिङ लामाले भनिन्, 'हामी बुद्ध धर्म मान्नेहरु छुई मान्दैनौं। किनभने आजभन्दा २५ सय वर्ष अघि बुद्धले यो सृष्टिको सृजना हो भन्नुभएको छ। बरू हामी हेल्दी फुड खान्छौं। स्वस्थ्य हुन्छौं। तर छुई मान्दैनौं।'
धर्म वा धामीझाँक्रीका कारण महिनावरी बार्ने गरिएको भन्नु धर्मको अपव्याख्या भएको बताउँछन् सुनरगाउँ मष्टाका धामी पूर्णसिंह कठायत। 'महिनावारी भएको बेला कुटो कोदालो नचलाउने, भारी नबोक्ने, रूख नकाट्ने भन्ने कुरा धर्मशास्त्रमा छ। यसले कमजोर शरीरले आराम पाउनुपर्छ भनेको हो,' उनले भने, 'नुहाउनुपर्ने हुँदा गाईको दुध खानाले छातिमा समस्या आउँछ भनेको हो। तर, भैंसीको दुध पनि नखाने भन्ने छैन। आफ्नो ख्याल राखौं। गोठमा नबसौं। नबसालौं।'
'हामी जानेर वा नजानेर अपराध गरिरहेका छौं। मेरो आग्रह छ यो अपराधको भागिदार हामी नबनौं', बञ्जाडेले भनिन्, 'अपराधको लागि कानुनले हदैसम्मको कठोरता अवनाउने छ। त्यसैले तपाईँहरु सबै यो कुरीति हटाउन प्रतिबद्ध हुनुहोस्। प्रशासन काठोर छ।'
उनले यो सुरूवात नभएर प्रतिबद्धता मात्र भएको बताइन्। सबै कटिबद्ध भएर लाग्यो भने छाउपडी प्रथा उन्मुलन हुन समय नलाग्ने उनको ठहर छ।