बर्दिवासबाट ७ जना जुवाडे पक्राउ

महोत्तरीको बर्दिवासबाट ७ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा भारत बिजनौर थाना नुरपुर ग्राम पंचायत २ का रिंकु सिंह भनिने अमृत सिंह भाटिया, बर्दिवास नगरपालिका– १४ बस्ने राजदेव महतो, दिलबहादुर बि.क., पुर्णबहादुर घिसिङ्ग रहेका छन्।
 
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनुकुमार साहको कमाण्डमा खटिएको टोलीले उनीलाई पक्राउ गरेको हो।  जुवाको खालबाट तीन सेट तास र २ लाख १० हजार ५ सय ७५ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ। 
तीन तल्लामाथि बसेर तास खेलिरहेका जुवाडेलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको थियो।

भारतीय नागरिक रिंकुले बर्दिवास नगरपालिका– १ मा कोठा भाडा लिइ जुवा खेलाउँदै आएको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी गौशाला नगरपालिका– १ का मानबहादुर तमाङ, सर्लाही हरिवन नगरपालिका– १ का श्यामबहादुर श्रेष्ठ र दोलखा जिल्ला मोलुङ गाउँपालिका ७ का सविनकुमार जोगी पनि जुवा खेल्दै गर्दा खालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि जिल्ला अदालत महोत्तरीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।  

प्रकाशित मिति: : 2020-01-03 06:47:50

प्रतिकृया दिनुहोस्