रूपन्देहीको मणिग्राममा शान्ति नमुना माध्यमिक विद्यालय छ। जहाँ ३० जना दृष्टिविहीनहरु अध्ययन गरिरहेका छन्। उनीहरु अन्य विद्यार्थीहरुसँग एउटै कक्षामा बसेर पढ्छन्।
दृष्टिविहीनहरुका लागि अध्ययनको स्रोत, शिक्षकहरु हुन्। दृष्टिविहीन शिक्षक टिकाराम भुसाल विद्यार्थीहरुलाई ब्रेललिपी सिकाउँछन्। स्कुलमा पहिला आँखा देख्नेहरु मात्र पढ्थे। २०४५ सालमा दृष्टिविहीनहरुलाई पनि पढाउने व्यवस्था गरियो। अहिले उनीहरु क्रिकेट जस्ता अतिरिक्त खेलहरु पनि भाग लिने र विद्यालयका परीक्षाहरुमा समेत उत्कृष्ट अङ्क ल्याउँछन्। यसले विद्यालय परिवार समेत खुसी बनाएको भुसालले बिएल नेपाली सेवालाई बताए।
'सुरूमा होस्टेल चलाउन निकै गाह्रो थियो। सरकारले मासिक रुपमा प्रति विद्यार्थी एक हजार मात्र दिन्थ्यो। त्यो समयमा निकै गाह्रो थियो,' भुसाल भन्छन्, 'अहिले केही हदसम्म सजिलो भएको छ। अहिले सरकारले महिनाको प्रति विद्यार्थी ३५ सय दिँदै आएको छ।'
समस्याहरू थुपै छन्। खर्च बढ्दो छ। त्यतिले पनि पुर्याउन गाह्रो भइरहेको छ। केही सहयोग बाहिरी देशबाट पनि आइरहेको छ। भुसालका अनुसार बाहिरी सहयोग वर्षाको पानी जस्तो छ। कहिले बढी आउँछ त कहिले कम।
छात्रावासमा बसेर अध्ययन गर्ने विद्यार्थीहरुका कति अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई छोडेर जाने अनि आफ्नो दायित्व केही नभएको जस्तो व्यवहार गर्छन्। जो सबैभन्दा दुखदायी छ।
विद्यार्थीको पहिलो पाठशाला घर हो। दोस्रो मात्र विद्यालय। भुसालका अनुसार अभिभावकहरुले आफ्ना दृष्टिविहीन बच्चा स्कुलमा छोडेर जान्छन्। तर शिक्षकहरुलाई समेत भेट्दैनन्। दायित्व त शिक्षक र अभिभावक दुबैको हो।
अभिभावकका यस्ता व्यवहारले दुखी भुसाल भन्छन्, 'यहाँ बच्चा छोडेर गएपछि उहाँहरु अब मैले केही गर्न पर्दैन। सबै संस्थाले नै गर्छ भन्ने सोच्नुहुन्छ। आफ्नो जिम्मेवारीबाट कोहि पन्छिनु हुँदैन।'
शान्ति नमुना माध्यमिक विद्यालय २००३ सालमा स्थापना भएको थियो। त्यति बेला विद्यार्थीहरुलाई सिमलको रुख मुनि पढाउने काम गरिन्थ्यो। २०४५ सालसम्म साङ्गहरु मात्र पढ्थे। त्यसपछि दृष्टिविहीनहरुलाई पनि पढाउने व्यवस्था गरिएको हो।
दृष्टिविहीनहरु पनि पढाउनु पर्छ भनेर योजना बनाउने जगदिश सर हुन्। हाल उनको भौतिक शरीर नभए पनि शान्ति नमुना स्कुलमा उनले गरेको ऐतिहासिक भूमिका सँधै जिवित रहने भुसालले बताए।
विद्यालयको छात्रावासमा दुःख, सुख गरेर तीस जना विद्यार्थी राखि अध्ययन गराइरहेको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताए। २०४८ सालबाट कार्यरत लामिछानेका अनुसार ६ जना दृष्टिविहीनहरु छात्रावास बाहिरबाट अध्यन गर्न आइरहेका छन्।
बिएल नेपाली सेवासँगको संवादमा उनले भने, 'दृष्टिविहीन भाइबहिनीलाई समाजले अझ सकारात्मक ढङ्गले हेर्न सकेको छैन। यो निकै चिन्ताको विषय हो।' छात्रावासमा बस्ने विद्यार्थीहरु बिरामी भएको खण्डमा सकेसम्म विद्यालय परिवारले हेरिरहेको उनले बताए।
समस्याहरु थुप्रै छन्। त्यस्तै अर्को समस्या हो विद्यालयको छात्रावासका दृष्टिविहीन विद्यार्थीहरुले विषय अनुसारको ब्रेल शिक्षक नपाउनु।
उनीहरु सबैको सामुहिक स्वर छ, 'ब्रेल शिक्षक त हुनुहुन्छ। तर, हामीले गणित जस्ता विषयहरु उहाँबाट सिक्न पाउँदैनौं। साथै हामी इन्टरनेटको पहुँचमा समेत हुँदैनौं। हाम्रा लागि पर्याप्त किताबहरु त छन्। तर पनि अधिकांश विषयवस्तु नेटमा सर्च गरेर पढ्नु पर्ने हुन्छ। हामीलाई सिकाउने खालका सामग्रीहरु बाजाहरुमा छन् तर संगीत सम्बन्धि शिक्षक छैनन्।'
स्कुलको व्यवस्थापन समितिका अध्यक्ष सरोज भट्टराईले अब विद्यालयमा दृष्टिविहीनहरुको सहजताका लागि इन्टरनेट जोडिने, विद्यार्थीहरुलाई संगीत सिकाउने शिक्षकको व्यवस्था गरिने र सकेसम्म समस्या समाधानको प्रयास गर्ने बताए। अन्तिममा उनले प्रतिप्रश्न गरे, 'जस्तो जस्तो पायो त्यस्तो शिक्षक राख्नु पनि भएन होइन र?'