भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात, नेपाल आउन पर्यटकहरूलाई मन्त्रीकाे निम्तो

सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को बुधबार औपचारिक सुरुवात भएको छ। 

बुधबार साँझ काठमाडौंको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिएको हो। भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरे।

घाटन कार्यक्रममा नेपालको संस्कृति झल्कने नाचगान तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइएको थियो। राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइएको थियो भने विभिन्न सङ्घसंस्थाले परेड गरेका थिए। भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै राष्ट्रपनि भण्डारी र पर्यटनमन्त्री योगेश भट्टराईले सम्बोधन गरेका थिए।  

राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० सबैको सहयोग र सहभागितामा महाअभियानकै रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। भ्रमण वर्षलाई सफल बनाउन सबै एकजुट हुनुपर्ने उनको भनाई छ। त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विविधतायुक्त संस्कृति र प्रकृतिका अनुपम सम्पदाहरूको अनुभव संगाल्न नेपाल आउन पर्यटकहरूलाई निम्तो गरे। 

सरकारले भ्रमण वर्ष २०२० लाई प्रस्थानबिन्दु मानेको र यसले नेपाली पर्यटनमा नयाँ बाटो र उज्यालोतर्फको मार्ग प्रसस्त गर्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रुपमा लागिपरेका छन्। सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न देशका विदेशी पाहुनापनि कार्यक्रममा सहभागी थिए।  

प्रकाशित मिति: : 2020-01-02 10:18:08

प्रतिकृया दिनुहोस्