सन् २०२० जनवरी १ का अवसरमा नगरकोटको बतासे डाँडाबाट नेपाल भ्रमण वर्षको भव्य स्वागत गरिएको छ।
भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु भएको नेपाल भ्रमण वर्षलाई सफल पार्न जिल्ला समन्वय समिति भक्तपुर र नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा बिशेष कार्यक्रमको आयोजना गरिएको हो। सो अवसरमा युवा तथा खेलकूदमन्त्री जगतबहदुर विश्वकर्माले नेपालको झण्डा झण्डोत्तोलन गर्दै सरकारले शुरु गरेको नेपाल भ्रमण वर्षको पहिलो स्वागत नगरकोटबाट गर्न पाउँदा खुशी लागेको बताए।
उनले नगरकोटको पहिलो घामको झुल्कोसँगै भ्रमण वर्षको स्वागत र शुरु गरेको बताउँदै यो भ्रमण वर्षलाई भव्यरुपमा सफल पार्नुपर्ने बताए। नयाँ वर्षसँगै भ्रमण वर्षको अवसरमा भएको कार्यक्रममा हिमाली दृश्यावलोकन गर्ने र सूर्योदय हेर्नेको भीड थियो भने कार्यक्रममा नेपाली सेनाले विगुल फुक्नुका साथै हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो। त्यसैगरी विभिन्न साँस्कृतिक कार्यक्रम गर्नुका साथै झण्डोत्तोलनसमेत गरिएको थियो।