बङ्गलादेश सरकारद्वारा भारतसँग जोडिएको सीमा क्षेत्रमा मोबाइल सेवा बन्द

बङ्गलादेश सरकारले मङ्गलबारबाट भारतसँग जोडिएको सीमा क्षेत्रमा मोबाइल सेवा बन्द गरिदिएको छ।  

बङ्गलादेश टेलिकम्युनिकेशन रेगुलेटरी कमीशन (बीटीआरसी)का अध्यक्ष जहारुल हकका अनुसार सरकारको एक उच्चस्तरीय बैठकपछि मोबाइल इन्टरनेट बन्द गर्ने फैसला गरिएको हो। उनले यो आदेश अस्थायी भएको बताए।

ढाका ट्रिब्युनको रिपोर्टका अनुसार, बङ्गलादेश सरकारले भारतमा नागरिकता संशोधन कानुन बनेपछि मोबाइल अपरेटर्सलाई यस सम्बन्धमा निर्देशन दिएको थियो। आइतबार मोबाइल सञ्चालकहरुले भारतीय सीमाको एक किमीको दायरामा मोबाइल सञ्जाल बन्द गरेका थिए।

बीटीआरसीले आफ्नो आदेशमा देशका मोबाइल सेवा प्रदायकहरुः ग्रामिण–फोन, टेलिटक, रोबी र बङ्गलालिंकलाई आगामी सूचना नआएसम्म सीमा क्षेत्रमा मोबाइल सञ्जाल बन्द राख्न भनेको छ।

चार वटै दुरसञ्चार कम्पनीले आफ्नो २००० ट्रान्सरिसिभरलाई बन्द गरेको छ। देशका ३२ जिल्लामा इन्टरनेट सेवाहरुमा पनि रोक लगाइएको छ।

सरकारको यो कदमका कारण झण्डै एक करोड मोबाइल उपभोक्तामा असर पर्नेछ।
 

प्रकाशित मिति: : 2020-01-02 01:07:50

प्रतिकृया दिनुहोस्