एक भूतपूर्व पत्रकारको बकपत्र '२०२० रिजोलुसन'

यो वा त्यो बहानामा जन्मभूमि नै छोडेर हिडेको मान्छेले अब गुमाउनु नै के छ र ?

सुरूमा वर्ष विक्रम सम्बतमा मात्र नापिन्थ्यो, उमेर बढ्दै जाँदा अंग्रेजी शिक्षा लिने क्रमसँगै ईश्वी सनमा पनि नाप्न थालियो । त्यसपछि पछाडि फर्केर हेर्नै छोडिएछ, बिक्रम सम्बतमा कम र ईश्वी सनमा बढी नाप्न थालियो वर्ष। सिधा भाषामा भन्दा 'ग्लोकलाइज्ड' गर्न नसक्नेले हुने त 'ग्लोबलाइज्ड' न हो, भएको त्यही हो।

भन्नलाई त वर्ष नापिन्छ, तर नापिने त आफ्नो उमेर रहेछ। उमेर जेमा नापे पनि हुन्छ, विक्रम सम्बतमा या इश्वी सनमा । जे गरे पनि हुने त उही एक वर्ष बूढो रहेछ। 

पछाडि फर्केर हेर्दा, उमेर भन्नु नै के रहेछ र संघर्षको अर्को पाना या अध्याय त रहेछ। कहिले थोरै नापिन्छ पाना भैदिन्छ, कहिले धेरै नापिन्छ अध्याय। फरक त्यही हो।  

यो पाना या अध्यायमा थुप्रै पात्र वा प्रवृति आउँदारहेछन्- चाहेर वा नचाहेर । एक वर्ष हैन, हरेक वर्ष दोहोरिने भनेको यही रीत मात्र रहेछ। हामी त्यसलाई फरक बनाउँन आफ्नो मर्जीले केही नाम दिन्छौं । नाम दिदैमा फरक पनि कहाँ हुँदोरहेछ र ? 

समय र स्थानसँगै सन्दर्भ बदलिदो रहेछ, त्यही सन्दर्भले पुराना साथी नचाहेर पनि असान्दर्भिक हुँदारहेछन्, त्यो ठाउँ नयाँले लिँदा उनीहरू सान्दर्भिक हुँदारहेछन्। यो क्रम एकपटक हैन, अनेकपटक दोहोरिदा एउटा चक्र बन्दो रहेछ,  त्यही चक्रको अर्को नाम रहेछ जिन्दगी ।

जिन्दगीको यात्रामा धेरैखाले घुम्ती र मोडहरू छिचोल्ने क्रममा थुप्रै काम गरियो । तर, सचेत मनले गरेको भनेको पत्रकारिता नै हो। पत्रकारिता आफ्नो पहिलो र शायद अन्तिम प्रेम पनि हो। नजानेर पनि यही गरियो, जानेर पनि यही गरियो। शायद अब बाँकि जीवन पनि यही नै गरिन्छ होला। 

तर, कुनै बेलाको व्यावसायिक पत्रकार अब म त्यो रहिनँ । व्यावसायिक पत्रकार हुन उसले कम्तीमा आठ घण्टाको एक सिफ्ट काम गरेकै हुनुपर्छ, उसको हातमुख त्यसैको कमाइले चलेको हुनुपर्छ र उसको ड्राइभिङ मन्त्र 'अब्जेक्टिभिटी'भन्दा माथि केही पनि हुनु हुदैन। म कन्फेस गर्छु, 'अब म यी न्युनतम शर्तहरू पूरा गर्ने अवस्थामा छैन । अरू त्यो नगर्दा पनि आफूलाई 'व्यावसायिक पत्रकार'  भन्छन् , त्यो उनीहरूको कुरा हो। तर म जे हैन, त्यो भन्न सक्दिन- यो चाँहि मेरो कुरा हो।  

म यो पनि कन्फेस गर्छु, 'धेरै काम गर्दा जिन्दगीमा एउटा काम पनि भाति पुर्याएर गरिएन। धेरै पाटा छाम्दै जाँदा एउटा पाटा पनि राम्ररी खुट्याउन सकिएन। तैपनि जीवनमा धेरै समय बिताएको क्षेत्र पत्रकारिता नै हो । र, केही जानेको छ भने पनि त्यही पत्रकारिता मात्र हो । यसको सैद्धान्तिक ज्ञान हासिल गर्न औपचारिक शिक्षामा गरिएको स्रोत, साधन र समयको खर्च अनि व्यावहारिक अभ्यासमा बिताएका वर्ष जोड्दा विनम्रतापूर्वक यति चाँहि भन्न सकिन्छ। 

आज वर्ष २०१९ को अन्तिम दिन। म एक भूतपूर्व पत्रकार फेरि पनि कन्फेस गर्छु,  जानेर/नजानेर भएका गल्तीका लागि क्षमायाचना गर्छु । र, वर्ष २०२० का लागि रिजोलुसन लिन्छु कि, पत्रकारिताका नाममा हुने ऐेजेरू प्रवृति र पत्रकारितामाथि लाञ्छना लगाउने फौबन्जारको डटेर सामना गर्नेछु । यसो गर्दा, गोलमटोल भाषामा लेखिने छैन, नाम  र प्रवृति नै किटान गरेर लेखिने छ। 

यतिबेला म त्यही पत्रकारिताको फेरो समातेर अमेरिकामा छु। आमसञ्चार तथा पत्रकारितामार्फत् एक्स्ट्रा अर्डिनरी कन्ट्रिब्युसन गरेको भनेर अमेरिकाले ग्रीनकार्ड दियो। त्यो भनेको मलाई अमेरिकामा १० वर्ष बस्ने सुविधा मिलेको हो। म राष्ट्रियताले सगर्व नेपाली नागरिक हुँ, नेपालको हरियो पासपोर्टमै यात्रा गर्छु। मेरो यो पछिल्लो स्टाटसप्रति न मलाई गर्व छ, न ग्लानी । दु:ख एउटैमा छ, मैले मेरो देशको सेवा गर्ने अवसर पाइनँ। त्यसका लागि कुनै नेताको जोजोम्यान बन्नु पर्थ्यो, मैले त्यो बाटोतिर पाइला राख्नुभन्दा त्यसो गर्नुनपर्ने मुलुकलाई गन्तब्य बनाएँ। 

यसो भन्दा 'योग्य थिइनस्, पाइनस्' पनि भन्न सकिएला। तर, म योग्य थिएँ भन्ने दुईवटा आधार अमेरिकाले नै दियो। पहिलो,आमसञ्चार तथा पत्रकारि क्याटगोरीमा एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड । दोस्रो, अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयले आमसञ्चार तथा पत्रकारिताकै पीएचडी विद्यार्थीलाई मेन्टरिङ गर्ने काम। नेपालमा भए त सोर्सफोर्स लगाएर पनि भन्न सकिन्थ्यो होला तर अमेरिकामा मैले पाएका दुबै योग्यताका प्रमाण त्यसरी पाइदैन। 

यस अर्थमा म भन्न सक्छु कि 'मैले आमसञ्चार तथा पत्रकारिता केही बुझेको छु । त्यसैले म यही विषयका बारेमा मात्रै आधिकारिक रूपमा केही भन्न सक्छु र अरूसँग पनि मलाई यस विषयमा केही बोल्न दिनुहोस् है भनेर अनुरोध गर्ने गर्छु ।

म नेपालको पत्रकारिताका बारेमा टिप्पणी गर्ने हैसियत गुमाएको मान्छे हुँ। म कन्फेस गर्छु, 'देशमा योग्यताअनुसारको काम पाइँन भनेर होस् वा सरकारले बुल्डोजर लगाएर घर भत्काइदियो भनेर होस्; छोरोको भविष्यको लागि भनेर होस् वा आर्थिक रूपमा सम्पन्न हुने लोभले होस्, मौका पाउँदा देश नै छोडेको एक किसिमको भगौडा हुँ म। अरू के के हुन्, उनीहरू नै जानुन् । यस्तो हैसियतको मान्छेले आफ्नै देशमा बसेर अनेकौ प्रतिकुलतासँग जुध्दै पत्रकारिता गरिरहेका मान्छेका बारेमा टिप्पणी गर्नु, न्यायसंगत हुदैन। कम्फोर्ट जोनमा बसेर अरूलाई अर्ती दिने पाखण्डपन कम्तीमा म गर्न सक्दिन।

म यो कुराको पनि कन्फेस गर्छु कि 'हिजो जानेर/नजानेर पत्रकारिताका नाममा मबाट पनि थुप्रै गल्ती भएका हुन सक्छन् । म ती सबै गल्तीहरूका लागि आत्मालोचना गर्छु र आइन्दा ती नदोहोर्याउने प्रण गर्छु ।'

यति भनिसकेपछि अहिले अमेरिकामा नेपाली पत्रकारिताका नाममा भएका केही ऐेजेरू प्रभृतिका बारेमा लेख्ने अनुमति चाहन्छु ।

अमेरिकामा अहिले नेपालमा 'कब-रिपोर्टर'देखि राष्ट्रिय मिडियामा सम्पादक भैसकेका मानिसहरूको बाक्लो उपस्थिति छ। उनीहरू अहिले पनि त्यही ब्याज खाएर भनिरहेका छन्, 'पत्रकार कहिलै रिटायर्ड हुदैन।' सबैभन्दा ठूलो पाखण्डपन र पत्रकारिताको ऐजेरू प्रवृति नै यही हो।कुनै समय नेपालमा पत्रकारिता गरेको नाममा अहिले अमेरिकामा ग्यास स्टेसन चलाएर पत्रकार हुन सकिन्छ भन्ने सोच नै तन्नम सोच हो । त्यसैले पत्रकारिताको इज्जत राख्ने हो सबैभन्दा पहिला त्यो तन्नम सोचबाट माथि उठेर  भनौ, 'म भूतपूर्व पत्रकार।' 

यदि हामीले यो सत्य स्विकार गर्ने हो भने आधा समस्या त्यही सकिन्छ। 

दोस्रो, सञ्चारकर्मी र पत्रकारका बीचमा रहेको फरक के हो ? त्यसबारेमा जान्न जरूरी छ । त्यसको बारेमा लामो सैद्धान्तिक ब्याख्या हुन सक्छ तर फेसबुक स्टाटस लेखेर, इब्लगिङ गरेर, घोस्ट राइटिङ गराएर, फेसबुक लाइभ गराएर पत्रकार हुन सकिदैन, यसबाट हुने भनेको सञ्चारकर्मी मात्र हो। यसमा एउटा सामान्य सिद्धान्त छ, 'सबै पत्रकार सञ्चारकर्मी हुन् तर सबै सञ्चारकर्मी पत्रकार  हैनन्।' 

तेस्रो, पत्रकारिताकाको कलेबरमा अमेरिकाको नेपाली डायस्पोरामा मल्टिह्याटको बिगबिगी । कोही समाजसेवी, कोही अभियन्ता, कोही गीतकार, कोही लेखक, कोही गायक, कोही इन्जाकर्मी, कोही सेजनकर्मी, कोही इनासकर्मी, कोही अनेसासकर्मी - अमेरिकामा अर्को पद र परिचय पनि नभएका पत्रकार नै छैनन् भन्दा पनि हुन्छ । पत्रकार राज्यको चौथो अंग किन भनेको ? यसको अर्थ सिधा छ; ऊ पनि एउटा न्यायाधीश हो। ऊसँग अब्जेक्टिभिटी मात्र हुनुपर्छ, प्रोक्सिमिटी हैन। यसरी मल्टिह्याट पत्रकारले गर्दा पत्रकारिता आलोपालो 'पर्म-पत्रकारिता' भएको छ। आफै समाचार लेख्ने आफैलाई समाचारको स्रोत बनाउने - योभन्दा लज्जास्पद विषय के हुन् सक्छ ? 

चौथो,  अमेरिकाको नेपाली डायस्पोरामा गरिएको पत्रकारिताको अर्को चरम दोहन 'मिडिया-मिक्स' हो। प्रायोजक पनि उही, वक्ता पनि उही । अनि कसरी छुट्टिन्छ समाचार र प्रचार। उदाहरणका लागि अमेरिकामा सबैभन्दा बढी पापकर्म कसैले गरेका छन् भने नेपाली वकिलहरूले गरेका छन्। तर, मिडियाका ठूला विज्ञापनदाता पनि उनीहरू नै भएकाले असाइलमका नाममा नेपालीमाथि भएका चरम दोहनका समाचार कहिलै आउँदैनन् । अपावदमा केही वकिलले त्यसो गरेका छैनन् कि ?,शंकाको सुविधा दिन सकिन्छ।

पाँचौ, अमेरिकाको नेपाली डायस्पोरामा 'पकेट-जर्नालिज्म'को चरम अभ्यास छ। त्यो भनेको जो आफूलाई पत्रकार भन्छन् उनीहरू कसैका लागि लविइङ पत्रकारिता गर्छन् । तर, आधिकारिक रूपमा हैन। अरू बेला केही लेख्दैनन् तर उनीहरूका दाताका लागि भने बाइलाइनमा सिन्डिकेटिङ गर्छन्। यस्तो काम आफूलाई पत्रकारिताकाका ठूला ब्राण्ड ठान्नेले नै गर्छन्। 

छैठौ, अमेरिकाको नेपाली डायस्पोरा जो पत्रकार हैन, उसलाई पत्रकार मान्छ र जो पत्रकार हो उसलाई पत्रकार नै मान्दैन । यसो हुनुको मूल कारण यो समुदायका ठालुहरूको लागि सस्तैमा जे गर्न पनि तयार हुने फौबन्जारी प्रवृति हो।

९० कटेकी मेरी वृद्ध आमा कहिलेकाहीँ भन्छिन्, 'काइला, तँलाई पढाएको त देश छोड्ने लाइसेन्स बनाइदिए जस्तो पो भयो । तैंले यसो गर्थिस् भन्ने चाल पाएको भए किन बनी गरेर तँलाई पढाउँथे र ? 'आमाको यो कुरा सम्झेर कहिलेकाँही ऐठन हुन्छ। आखिर मन नै त हो ।

सातौं, पत्रकारितामा एउटा स्कुलिङ हुन्छ र त्यसले संस्कारको जग हाल्छ। यसलाई सजिलो भाषामा लेख्दा, पत्रकारितामा वरिष्ठलाई इज्जत र ज्ञानलाई सम्मान गरिन्छ। अनि सिक्ने कुराको बिर्को कहिलै लगाइदैन। तर, अहिले अमेरिकामा जो आफूलाई चल्तीको पत्रकार ठान्छन्, उनीहरूमा यी दुआधारभूत गुण नै छैनन् । जान्नेहरूको कुरा सुन्ने, अग्रजहरूको इज्जत गर्ने त संस्कार नै छैन। सिक्ने कुरा त धेरै टाढाको कुरा भयो । यत्रतत्र तथाकथित भुइँफुट्टाहरू ठिङ्ग उभिएका भेटिन्छन्, ज्ञान र संस्कारले नुहिने मान्छे भेट्न नै लगभग असम्भव छ।

आठौं, अमेरिकामा किन पत्रकारिता गर्ने ?, के का लागि र कसका लागि गर्ने ? यी प्रश्नहरूको वस्तुगत उत्तर नै भेटिदैन। जसले गरेका छन्, उनीहरू ठान्छन् समाजका लागि गरेको । तर, समाजलाई यस्तो खाले पत्रकारिता चाहिएकै छैन। उनीहरूलाई चाहिएको त पर्चाकारिता हो । जुन समाजलाई चाहिएकै छैन, त्यही काम जबर्जस्ती गरेर समाजका लागि पत्रकारिता गरिरहेको ठान्ने रोग पनि प्रवल छ । 

नवौ, अहिले अमेरिकाको नेपाली डायस्पोरामा प्रचार, प्रशंसा र प्रशस्ति को महामारी नै लागेको छ। जसलाई पनि प्रशंसा चाहिएको छ, चर्चा चाहिएको छ। र, त्यसको क्याटरिङकर्म भएको छ- पत्रकारिता। 

अमेरिकाको नेपाली पत्रकारितामा अहिले विद्यमान नौ ऐजेरू यिनै हुन् । यिनै ऐेजेरूका कारण, पत्रकारिता जे हैन, त्यो भएको छ र जे हो त्यो चाँहि भएको छैन । 

त्यसैले पत्रकारितालाई जसले पनि गिराएर पत्रुकारिता भन्न थालेको छ, पितपत्रकारिता भन्न थालेको छ। यसका लागि ठाउँ दिने पनि आफूलाई पत्रकार भन्नेहरूले नै हो।

समग्रमा अमेरिकाको नेपाली पत्रकारिता चौतर्फी आक्रमणको निशानामा छ। सामाजिक सञ्जालकर्मीहरूको आक्रमणमा छ यो, सामाजिक अभियन्ता भन्नेहरूको कोपभाजनको शिकार भैरहेको छ यो । आज जसले पनि सजिलै भन्न थालेको छ,  फेक न्युज । दु:खको कुरा  यसका लागि आफूलाई पत्रकार भन्नेहरूको ऐजेरू प्रभृति जिम्मेवार छ।

आज वर्ष २०१९ को अन्तिम दिन। म एक भूतपूर्व पत्रकार फेरि पनि कन्फेस गर्छु,  जानेर/नजानेर भएका गल्तीका लागि क्षमायाचना गर्छु । र, वर्ष २०२० का लागि रिजोलुसन लिन्छु कि, पत्रकारिताका नाममा हुने ऐेजेरू प्रवृति र पत्रकारितामाथि लाञ्छना लगाउने फौबन्जारको डटेर सामना गर्नेछु । यसो गर्दा, गोलमटोल भाषामा लेखिने छैन, नाम  र प्रवृति नै किटान गरेर लेखिने छ। 

थाहा छ, यसो गर्दा चुकाउनुपर्ने मूल्य पनि । तर, हेक्का रहोस्  यो वा त्यो वहानामा जन्मभूमि नै छोडेर हिडेको मान्छेले अब गुमाउनु नै के छ र ? 

९० कटेकी मेरी वृद्ध आमा कहिलेकाहीँ भन्छिन्, 'काइला, तँलाई पढाएको त देश छोड्ने लाइसेन्स बनाइदिए जस्तो पो भयो । तैंले यसो गर्थिस् भन्ने चाल पाएको भए किन बनी गरेर तँलाई पढाउँथे र ? '

आमाको यो कुरा सम्झेर कहिलेकाँही ऐठन हुन्छ । आखिर मन नै त हो ।
 
बाँकि, जीवन रहे त जगत रहन्छ । नयाँ वर्ष २०२० सबैका लागि शुभ होस् - शुभकामना ।
भूलचुक लिनेदिने । 

प्रकाशित मिति: : 2020-01-01 23:59:24

प्रतिकृया दिनुहोस्