चिसोले जुम्ला प्रभावित, गाडी स्टार्ट गर्न आगो बाल्नुपर्‍यो !

मंसिरको अन्तिममा भएको भारी हिमपातका कारण जुम्लामा अत्यधिक मात्रामा चिसो बढेको छ। चिसो बढेसँगै जनजीवन कस्टकर बन्दै गएको छ।

नदि बाहेक खोलाहरुमा पानी बगेको देखिन छोडेको छ। चिसोले साना खोलाहरु पुरै जमेका छन्। खोलाको पानी प्रयोग गर्न नमिल्ने गरि बरफ जमेको छ। 

तापक्रम घटेर राति माइनस १३ देखि बिहान माइसन ७.२ डिग्री सेल्सियससम्म पुगेको हावापानी तथा फिल्ड कार्यालय जुम्लाले जनाएको छ। आइतबारको न्युनतम तापक्र माइनस ५.५ डिग्री सेल्सियस छ। भने दिउँसो छ डिग्री सेल्सियस मापन भएको छ।

अघिल्ला वर्षहरुमा पुस लागिसकेपछि मात्र तापक्रम माइनसमा जाने गरेके देखिएपनि यो वर्ष मंसिरको अन्तिमबाट नै तापक्रम माइनसमा झरेको कार्यालयकी फिल्ड अब्जर्भर गंगा हमालले बताइन्।

चिसोले बिहानका गाडी सेवा पनि प्रभावित बनेका छन्। हरेक दिन बिहान छुट्ने गाडीको इन्जिन चिसोले नचल्ने भएको सुर्खेत बुलबुलेका जीप यातायात व्यावसायी समिति जुम्ला काउन्टरका स्टाफ जितेन्द्र रावलले बताए।

'चिसो बढेकोले बिहान गाडी स्टार्ट नै हुँदैनन्। सात आठ जना लागेर धकेलेर स्टार्ट गर्छौं। भएन भने आगो बालेर इन्जिन तताउनु पर्छ,' उनी भन्छन्,'बाटोमा धेरै ठाउँमा बरफ जमेको छ। गाडी चिप्लिएर हैरान छन्। एक्सिडेन्ट् भैजान्छ कि भन्ने पीर हुन थाल्यो।' 

'चिसोले बिहान धारोमा पानी आउँदैन। साँझ पानी भरेर बिहानलाई पनि पुग्ने गरि राखिएन भने समस्या हुन्छ,' तातोपानी–४ गिडिखोलाका भरत नेपालीले बिए नेपाली सेवोलाई बताए,'यो वर्षको चिसो साह्रै कष्टदायी भयो।'

बिहान चिसोले गर्दा पाइपभरि बरफ जमेको हुन्छ भने बरफले गर्दा ठाउँठाउँमा पाइपलाइन फुट्ने समस्या आइरहेको खलंगा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पन्नबहादुर रोकायाले जानकारी दिए। 

चिसोले दमका रोगी तथा वृद्धहरुलाई असर गर्न थालेको छ। चिसो अत्यधिक बढेसँगै वृद्धवृद्धाहरु तराई झर्ने क्रम बढ्दो छ। मंसिर अन्तिमदेखि हवाईजहाजमा तराई झर्ने बुढापाकाहरुको संख्या बढेको सम्मिट ययरको जुम्ला शाखा प्रमुख सन्तोष शाहीले बताए।

प्रकाशित मिति: : 2019-12-30 06:49:50

प्रतिकृया दिनुहोस्