वीरगन्ज भन्सार नजिकैको इनर्वा गाउँका २० घर धुरीका महिलाहरू यतिबेला कागजको थुँगा बनाउन व्यस्त छन्। वीरगन्ज महानगपालिकाको १६ नं। वडा पर्ने उक्त गाउँका महिलाहरू बढ्दो प्लास्टिक झोलाको प्रयोग रोक्न माग गर्दै कागजको थुँगालाई बेचेर आय आर्जन गरिरहेका छन्।
आफ्ना आमाहरूले बनाएको थुँगा देखेर बालबालिकासमेत दंग परेका छन्। फुर्सदको समयमा बालबालिकाहरू बाहिर डुल्नुभन्दा कागत च्यात्ने तथा मिलाएर झोलामा राखिदिने जस्ता काममा आमालाई सघाउने गरेका छन्।
घर भित्रका गृहणीदेखि विद्यालय नजाने किशोरीसमेत यो काममा लागेका छन्। विद्यालयको पहुँचभन्दा टाढा रहेका १४ वर्षका बालिकादेखि ७० वर्षका वृद्धासमेत लागिपरेको वीरगन्जको फोरजी आर समूहकी अध्यक्ष नुतन सरावगीले बताइन्।
महिलाद्धारा नै सञ्चालित समूहकी अध्यक्ष सरावगीका अनुसार पहिले पहिले ईनवा गाउँका अधिकांश महिलाहरू घरको काम सकेर समूहमा बसि अनावश्यक गफ गर्ने अथवा टिभी हेरेर समय बिताउने गर्थे। तर, अहिले घरमै बसेर काम पाएपछि समूह मै बसेर कागजको थुँगा बनाएर रमाइरहेका छन्।
अहिले पनि तराई क्षेत्रका अधिकांश स्थानमा घर परिवारको साथ र सहयोग नपाएकाले महिलाहरू घर बाहिर जान पाइरहेका छैनन्।
‘इनर्वा गाउँका महिलाहरु घर भित्रको काममा मात्र सिमित भएकाले उनीहरूलाई रोजगारीका साथै केही पैसा आर्जन गर्न सकुन् भन्ने उद्देश्यले सो कामका लागि जागरूग गराएको हो’, अध्यक्ष सरावगीले बताइन्।
आवश्यक तालिम पाएर आय आर्जन हुन थालेपछि महिलाहरुले घरमा रहेका पुराना किताब तथा अखबारका पानाबाट थुँगा बनाउने गरेका छन्। यसरी नपुगेका थप आवश्यक किताब विभिन्न विद्यालयबाट सहयोग स्वरूप उपलब्ध हुन्छ।
यसअघि घरायसी काममा सिमित ३ सन्तानकी आमा शीला देवी मंसीरको दोस्रो सातादेखि थुँगा बनाउने काममा व्यस्त छन्। कागजको थुँगा बनाएर आत्मनिर्भर हुने कोशिसमा रहेकी उनले अहिलेसम्म आफ्नो भागमा १ सय जत्ति थुँगा बनाएर बजारमा पठाईसकेकी छन्।
‘घरमा फुर्सदको समय अनावश्यक अरूको कुरा काटेर बस्नुभन्दा केही पैसा हुनुका साथै समुदायको लागि पनि राम्रो काम गर्न पाउँदा निकै खुशी लागेको छ’, उनले भनिन्। उनीसँगै बसेर कागजमा पिठोको लसा टाँस्दै गरेकी ईन्दु देवी ५ सन्तानकी आमा हुन्। श्रीमान मजदुरीका लागि विदेश गएका छन्।
पुरातन सोच राखेको समाजमा श्रीमानकै कमाई खाएर बस्नुपर्ने बाध्यताले चाहना हुँदाहुँदै पनि उनी कहिल्यै घर बाहिर निस्कन पाइनन्। तर, घरबाटै थुँगा बनाएर बजार पठाउँदा आफ्ना नानीहरूको पढाई खर्च जुटाइरहेकी छन्।
एकै गाउँका महिलाले समूह बनाए थुँगा बनाउँछन्। नभ्याउने महिला आफ्नो घरमै लगेर बनाउने गरेका छन्। थुँगा बनाउँदै गरेकी अर्की महिला मन्थुरा देवी भन्छिन्, ‘आफू पढेको छैन। तर, बाहिरी काम गर्न खुसी लाग्छ म पनि बाहिरी काम गर्दैछु र घरमै बसि गर्ने यो कामले परिवारका सदस्य पनि खुशी छन्।’
७० वर्षिय ज्ञानदुलारी आफ्नो छोरी र बुहारीलाई यस काममा सघाईदिने गरेकी छन्। यति वर्ष पछि गाउँका महिलाहरुलाई जागरूक भएको देखेर उनी हर्षित छिन्।
यता ईनर्वा गाउँका महिलालाई जागरूक बनाउने सरावगीका अनुसार घर भित्रका महिलाहरूका उत्पादनलाई बजारसम्म पुर्या्उन कठिनाई हुनाले यसका लागि फोरजि आर समूहका महिलाले नै थुँगा बजारसम्म पुर्याउने गरेका छन्। १ किलो कागजको थुँगालाई बजारमा पाईने सानो प्लाष्टिकको झोलाको दर अनुसार ६० रूपैयामै बिक्रि गरिन्छ। बिक्रि बापत आएको रकम महिलाहरूले घरमै पाउने भएपछि उनीहरुको काम गर्ने जाँगरसमेत बढेको छ।
दिनको कम्तिमा १ सय पिस बनाईएको थुँगालाई औषधि पसल, किराना पसल तथा कस्मेटिक पसल लगायत जहाँ सानो झोलाको प्रयोग बढी हुन्छ त्यस्ता पसलहरुमा दिने गरेको नुतन सरावगीले बताईन्। प्लास्टिक झोलाको प्रयोग र यसले पर्यावरणमा पार्ने असरलाई कम गर्न अब पर्साको ग्रामिण भेगका महिलालाई पनि यस प्रकारको थुँगा बनाउने कार्य प्रति जागरूक बनाउने फोरजी आरकि सरावगीको भनाई छ।
अहिले वीरगन्ज महानगरमा प्लाष्टिको प्रयोग बढ्दो छ। पर्यावरणमा प्रत्यक्ष असर पुर्याईरहेको प्लास्टिक झोलाको प्रयोगमा नियन्त्रण गर्न अहिले वीरगन्जमा विभिन्न सचेतना मुलक कार्यक्रमहरु चलिरहेका छन्। तर, खासै प्रभावकारी हुन सकेको छैन। वीरगंज महानगपालिकाले प्लाटिकमुक्त नगर बनाउन घोषणा गरेपछि अहिले बढ्दो प्लाष्टिकको प्रयोगलाई नियन्त्रण गर्न चुनौतिको बिषय नै बनेको छ। तर, ईनर्वाकि गृहणी महिलाले गरेको यो कार्य उदहारणीय बनेको छ।