अमेरिकामा सन् २०१९ मा अहिलेसम्मकै सबभन्दा धेरै हत्या

अमेरिकामा सन् २०१९अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

असोसियटेड प्रेस, यूएसए टुडे र नर्थइस्टर्न विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्क अनुसार सन् २०१९ मा मात्रै ४१ वटा आम हत्या काण्ड भएका र २११ जनाको ज्यान गएको छ।

हत्या गर्ने मानिस स्वयंको निधनबाहेक चार वा चारभन्दा बढी मानिस मारिनुलाई आम नरसंहार मानिएको छ।

सन् २०१९ मा भएका ४१ मध्ये ३३ वटा काण्डमा बन्दुक प्रयोग गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। राज्यका हिसाबले क्यालिफोर्नियामा सबभन्दा धेरै आठवटा आम हत्याका घटना भएको थियो।

सन् १९७० सम्मको तथ्याङ्क हेर्दा सन् २०१९ भन्दा बढी हत्या काण्ड भएको नपाइएको एपीले जनाएको छ।

सन् २००६ दोश्रो धेरै आम हत्या भएको वर्ष थियो। यो वर्ष ३८ वटा त्यस्ता काण्ड भएका थिए।

सबभन्दा धेरै हत्याकाण्ड सन् २०१९ मा भएको भएपनि सन् २०१७ मा मृत्यु हुने मानिसको सङख्या अहिलेसम्मकै धेरै छ। त्यो वर्ष २२४ जनाको यस्ता हत्याकाण्डमा ज्यान गएको थियो।

अनुसन्धानकर्ताहरू भन्छन्– मेरिकामा भएका यस्ता कैयौँ आम नरसंहारमा पारिवारिक कलह, लागु औषध सम्बन्धी काण्ड वा गुन्डाहरूको समूह संलग्न हुने गरेकाले कैयौँ घटना अखबारहरूको शीर्ष समाचार बन्न सक्दैनन्।

अहिले आम हत्याको सङ्ख्या बढ्नु आंशिक रूपमा अमेरिकामा आक्रोशपूर्ण र निराशाजनक समयले गर्दा भएको हो तर यस्ता अपराध लहरका रूपमा आउने जाने गर्ने अनुसन्धानकर्ताहरू बताउँछन्। 

प्रकाशित मिति: : 2019-12-30 00:45:58

प्रतिकृया दिनुहोस्