सबै स्थानीय तहलाई सडक सञ्जालसँग जोड्दैछौँ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशअन्तर्गतका सबै स्थानीय तहलाई सडक सञ्जालले जोड्ने गरी योजना अघि बढाइरहेको बताएका छन्।

राइनास नगरपालिका–६ धमिलिकुवामा शनिबार आयोजित नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्दै उनले गण्डकी प्रदेशका प्रत्येक निर्वाचन क्षेत्र र ती अन्तर्गतका गाउँ तथा नगरपालिका गरी ८५ वटै स्थानीय तहसम्म सडक पु¥याउने योजनाका साथ काम अघि बढिरहेको बताए।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार मातहतका कार्यालयमा पर्याप्त कर्मचारी, बजेट र आवश्यकताअनुरुप भौतिक संरचना नहुँदा कामले गति लिन नसकेको बताए। लमजुङका मध्यनेपाल, सुन्दरबजार, राइनास नगरपालिका, क्व्होलासोथर, दोर्दी गाउँपालिकालगायत विभिन्न तहमा सडक निर्माणको काम भइरहेको बताउँदै उनले भविष्यमा ती स्थानको प्रदेशसम्मको पहुँच निकै सहज हुने बताए।

मुख्यमन्त्री गुरुङले आगामी दिनमा सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गर्दै प्रभावकारी ढङ्गले योजना तथा कार्यक्रमलाई अघि बढाउने जानकारी गराउँदै लमजुङका सबै गाउँपालिका र गाउँपालिकालाई सडक सुविधाबाट बञ्चित नगराउने प्रतिबद्धता व्यक्त गरे।

सोही अवसरमा मुख्यमन्त्री गुरुङले तनहुँको भानु नगरपालिका नेपालडाँडाबाट तार्कुघाट, धमिलिकुवा हुँदै बोराङखोलासम्मको सडक स्तरोन्नति कार्यको शुभारम्भ पनि गरे।

भौतिक पूर्वाधार मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय लमजुङमार्फत ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ अन्तर्गत १० किलोमिटर सडक कालोपत्र गरिने भएको हो । २८ करोड ८४ लाख ८३ हजार १८७ रुपैयाँ ५५ पैसा भ्याटबाहेकको बजेट रहेको सो आयोजनाको निर्माणको जिम्मा लामा कन्स्ट्रक्शन प्रालिले लिएको छ।

प्रकाशित मिति: : 2019-12-29 21:16:07

प्रतिकृया दिनुहोस्