कविता
कमलो त्यो मनले कति मनलाई साथ् दियो होला
जिन्दगीदेखि बिरक्तिएर भागेकाहरुलाई
कलिला ती हातपाउहरुको बाध्यता देखेर मुटुमा ठेस पुग्यो होला
सबैलाई आफ्नै ठानेर बढेका ती पाइलाहरु
तिमीभन्दा पहिले तिम्रो इच्छासक्ति पुग्यो होला
सैसबकालदेखि नियतिको पैठेजोरीं खेल्दै
अनि त्यो कलिलो निर्दोष बाल्यकाल कसरी बित्यो होला
त्यो त तिमीलाई मात्र थाहा छ
मान्छेहरुको बिचमा पनि आफ्नाहरु नभेट्नु
सायद पुरै कहरको पहाडले आफुलाई थिच्दॊ हो !
र पनि अलिकति पनि नदग्मगाई पाइलाहरु चालीरहयौ
जिन्दगीलाई माया त तिमीले गर्न जानेका छौ
फेरी पनि दुनियालाई सोध्छौ, तिम्रो माया कति लाग्छ भनेर !
तिमीले कोर्ने ती वजनदार लेखाईहरुमा
कल्कलाउदॊ , संघर्षमय, सजीव जीवन भेटिन्छ
कष्टको भुङ्ग्रोमा दढेर आफुभित्रको चमक निकाल्न सक्यौ
ढुंगाजस्तो कठोर समय पनि पगालिदियौ
हो त्यतिबेला नै हो तिमीप्रति अथाह माया जाग्ने
अनि असिम प्रेम झल्किने
अनायासै नयनबाट छछल्किन्छन् खुसीहरु
सामाजिकताभित्र रुमल्दा , गरिबीभित्र गुज्रीरहंदा
तिमीले त्यहा तिम्रो धरातल कहिल्यै बिर्सन सकेनौ
र त तिमी फैलिन चाहन्छौ आशाको किरण बनेर ती पथहरुमा
जहाँ तिमीले बलिन्द्र आँशुका धाराहरु बगाएका थियौ
कलिला हातहरुले अजङ्गो जिम्मेवारी बहन गरेका थियौ
हो त्यही निश्चल बालापनको कसम
त्यति बेलालाग्छ तिम्रो अपार अनि अमित माया !
आफ्नाहरु गुमाउनुको पिंडा अनि मर्म
सायद अरुले त्यति महशुस गरेनन होला
त्यही आलॊ सम्झना मनमा राखी हास्ने तिम्रो त्यो हंसिलो अनुहार हेर्दा
मुटुमा चस्स गाँठो पर्दॊ हो
अनि त्यतिबेला लाग्छ तिम्रो भित्रि आत्मादेखिन माया
र पनि फेरी सोध्छौ ,तिम्रो माया कति लाग्छ भनेर !
तिमीसंग को नाता धेरै पुरानॊ इतिहास जस्तो छैन
एकपलमा दुई बचन मिठो बोलाई न हो
न त कुनै भेट , न त गफगाफ नै
मात्र सेतु थियो त, तिम्रा ती गहकिला शब्दभाबहरु
जुन शब्दहरुमा बग्दै गयो मनका डोबहरु पछ्याउदै
निस्वार्थ भाब , हंसिलोपन अनि त्यो शालीन गम्भीरता
सायद अजम्वरी मित्रताको रंग तिमीबाटै महशुस भयो
हो त्यतिबेला लाग्छ तिम्रो अपार स्नेह
र पनि फेरी तिमी सोध्छौ ,तिम्रो माया कति लाग्छ भनेर !
काँडाले घोच्दा पनि फूल मात्र दिन जानेका छौ
तिक्ततालाई पनि मिठासताले जित्न सकेका छौ
तैपनि तिमि भन्छौ तिमी एक्लो छौ यति ठुलो भिडमा
आफ़्नॊ मनको बार्दलीमा रंगिन फूलहरु फक्राउन सकेका
शब्दको मिठासले मुटुको ढुकढुकी स्पर्श गरेका छौ
हि त्यतिबेला लाग्छ तिम्रो अदितिय माया !
आँखा चिम्म पारी शुन्य मनले तिमीप्रति बिश्वास पलाउछ
अनि तिमीप्रति यति धेरै भरोसाका किरणहरु उजागर हुन्छ
हो अनि त्यतिबेला सायद तिमीलाई बिश्वास नलाग्न सक्छ
अनि आँखा बन्द गरि आफैलाई सोध तिमी
तिम्रो अन्तरआत्मालाइ प्रस्न गर तिमी
कति उज्यालॊ ज्योति बनिसक्यौ भनेर !
जुन उजेली ले ओशिएका आशाहरु उजागर गरीसके भनेर
अनि सोध तिमीले दिएका अपार मायाको अर्थ आफ्नाहरुलाई
हो त्यतिबेला नै हो तिम्रो धेरै माया लाग्ने !
घर छोड्नु पर्दाको पिंडा के तिमी नाप्न सक्छौ ?
अनि तिमीले गरेका ती संघर्षका तिता पल भुल्न सकेका छौ ?
यदि सकेका छौ भने त्यसका प्रमाणहरु जुटाउन सकेका छौ ?
हो त्यतिबेला , तिमीलाई नै सोध्न मन लाग्छ
तिम्रो माया किन अनि कति लाग्छ भनेर।