अफिसमा आजकल निकै प्रेसर छ। यो छोटो दिनमा केही काम गर्न भ्याईदैन। एक्लो शरीर, कोठा पुगेर खाना पनि आफैंले बनाउनुपर्छ। कति तिर भ्याउनू। आज फेरि मेरो जन्मदिन पनि हो। सानो मामुले मलाई आफ्नो घर बोलाउनुभएको छ।
सानु मामुको घर पुगेर खाना खाएर एकछिन बसेर कोठामा फर्किएँ। सुत्नु अगाडि यसो ल्यापटप खोलेँ। आस्थाले ईमेल गरेकी रहिछे। कयौंपटक मैले उसको दिल दुखाएको छु। धेरैपटक रुवाएको छु उसलाई, तर पनि ऊ एकोहोरो पाराले मलाई मन पराईरहेकी छे। तर, साच्चै भन्ने हो भने उप्रति मलाई मनमा कुनै फिलिङ्स नै छैन। अझै पनि छैन। उसको ईमेल खोलेर पढ्न थालेँ।
‘मेरो प्यारो मान्छे
तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना! तिमी मसँग नबोले पनि तिमीलाई शुभकामना दिने अधिकार त मसँग पक्कै छ होला। तिमीसँगको १ वर्षको यात्रा निकै सुखद रह्यो।’
ओहो! ऊ त मेरो जन्मदिन पनि सम्झिरहेकी छे। मैले त उसलाई नै लगभग बिर्सिसकेको रहेछु। एक महिना भयो कुराकानी र भेटघाट नभएको पनि । फेरि ईमेल पढ्न थालेँ।
‘यो संसारमा मैले धेरै मानिस भेंटेँ। तर, तिमीसँग जस्तो एट्याच्मेन्ट अरू कसैसँग भएन। १ वर्षदेखिको तिमीसँगको चिनजानमा मलाई पाँच वर्ष जस्तो आभास हुन थालेको थियो। हुन त तिमीले मलाई धेरैपटक उपेक्षा गरेका छौ। तर पनि मैले तिमीलाई पटक्कै बिर्सिन सकिनँ। त्यसदिनदेखि नै मैले तिमीलाई मन पराएँ जुनदिन मैले पहिलोपटक तिमीलाई तिम्रो सानो मामुको घरमा भेटेकी थिएँ। त्यसैदिनदेखि नै तिमीलाई के मनपर्छ के मनपर्दैन सबै तिम्रो बारेमा ख्याल राख्न थालेकी थिएँ। तिमीलाई हरेक पटक म मेरो अफिस नजिकै बोलाउँथें। तिमी सहजै आउँदा मेरो मन त्यसै त्यसै पुलकित हुन्थ्यो। तिमीसँग फिल्म हेर्न जाँदा संसार कै खुशी कसैले मेरो पोल्टामा ल्याएर राखे झैं हुन्थ्यो। तर, के गर्नु खुशीको आयू त साच्चै नै छोटो हँदोरहेछ। तिमीले अचानक मेरो फोन उठाउन छोड्यौ, भेट्ने कुरा त परै जाओस्। म तनावग्रस्त भईसकेकी थिएँ। तिम्रो सानुमामुलाई पनि तिम्रो बारेमा सोधें उहाँले पनि तिमीले यस बारेमा केही नभनेको जानकारी दिनुभयो। फेरि अचानक मलाई कताबाट नयाँ नम्बरबाट सम्पर्क गर्ने जुक्ति आयो। त्यतिखेर नयाँ मान्छे भनेर तिमीले मसँग कति मख्ख परेर कुरा गरेका थियौ। तिमीले त्यो नयाँमान्छेसँग मप्रति कुनै फिलिङ्स नभएको र तिम्रो र मेरो उमेरले फरक पारेको कुरा बतायौं।
म छानाबाट खसेजस्तो त त्यतिबेला भएँ जब ६ महिना भेटेर घुमेपछि तिमीले उमेरको कुरा बिचमा ल्यायौ । याद छ सुलभ? म कति रोएकी थिएँ तिमीसँग फोनमा। मैले सोचेँ कि हाम्रो सम्बन्ध त्यतिबेलै सकियो। तर, हैन तिमी फेरि मलाई भेट्न आयौ र मेरो बुवाआमासँग भेट्न आउने बाचा गरेर गर्यौं । त्यस्तो बाचा त हजारौंपटक गर्यौ तिमीले मसँग। तर, तिमीलाई कुन तत्वले रोक्यो भन्ने कुरै मैले बुझ्न सकिनँ।
हामीबिचको सम्बन्ध फेरि बिस्तारै फस्टाउन थाल्यो। एकदिन फिल्म हेर्न जाने प्रस्ताव तिमी आफैंले राख्यौ। मसँग त त्यो अधिकार पनि कहाँ थियो र । तर तिम्रो प्रस्ताव म कहिल्यै नर्कान सक्दिनँ थिएँ। अफिस सकेर त्यसदिन फिल्म हेरेर आईसकेपछि नै हो तिमीसँग मेरो कुरा कम हुन थालेको। भोलिपल्ट मैले १० पटक भन्दाबढी फोन गरेँ तर अह! तिमीले मेरो फोन उठाउँदै उठाएनौं। कति रोएँ म तिम्रो लागि। तर तिमी त मन लागे बोल्थ्यौ नत्र बोल्थेनौ । तिमीले फोन नउठाएको रात मलाई म्यासेज गर्यौं। हाम्रो सोच मिलेन, भनेर।
त्यतिमात्रै कहाँ हो र तिमीले त मलाई अरु कसैसँग सम्बन्ध गाँस्न समेत अनुमति दियौं। तिम्रो त्यो म्यासेज पढेर म राति नै डाँको छोडेर रोएकी थिएँ। एक वर्षदेखिको सम्बन्ध तिमीले कति सजिलै एउटा म्यासेजबाट तोड्यौ। एक महिनासम्म तिमीसँग कुरा हुन नसके पनि तिमीलाई मैले बिर्सेको छैन । आफ्नो ख्याल राख्नू।
तिम्रो शुभचिन्तक
आस्था’
आस्थाको ईमेल पढ्दापढ्दै रातको ११ बजिसकेछ । ढुंगा बनिसकेको मेरो मनलाई आस्थाको ईमेलले बेस्सरी ठेस लाग्यो। कति माया गर्छे ऊ अझै पनि मलाई। तर, यर्थाथ त यो हो कि उसँग मेरो केही पनि मिल्दैन। उमेरले पनि ऊ मभन्दा जेठी छे। ऊ काठमाण्डौमा घर भएकी सम्पन्न परिवारकी छोरी। के मैले उसको ईच्छा र चाहनालाई पूरा गर्न सक्छु त? तर, कताकता उसको लागि मेरो मनमा फेरि माया पलाएझैं भयो। जे सुकै होस् भनेर फोन डायल गरेँ। उसले फोन उठाईन। सुतिसकी होली बिचरी! भोलि गर्छु भनेर राखिदिएँ। भोलिपल्ट पनि मैले धेरै फोन गरेँ उसलाई तर उसले फोन उठाईन।
मेरो फोन नउठाएको देखेर एकपटक त झनक्क रिस पनि उठ्यो। फेरि सोचेँ मैले एक महिना उसँग सम्पर्कविहिन हुँदा पनि उसलाई यस्तै भएको हुँदो हो। अचानोको चोट खुकुरीलाई कहाँ थाहा हुन्छ र? चोट बुझ्न त अचानो नै बनेर हेर्नुपर्छ।
आफूलाई एकपटक अचानोको ठाउँमा राखेर हेरेँ। हुन त मैले आस्थाको घर पनि देखेको थिएँ तर घरमा गईहाल्ने आँट पनि आएन। कसरी जान्थेँ र म उसको घर जबकी उसले घरमा कुरा गर्न आउनु भनेर हजारौं पटक अनुरोध गर्दा पनि मैले त्यसै टारिरहेको थिएँ। यत्रो समय उप्रति कुनै फिलिङ्स नआएको मलाई एक्कासी उप्रति माया लागेर आयो ।
शनिबार भएकोले अफिस पनि थिएन। मेरो जाने ठाउँ पनि सानोमामुको घर बाहेक कतै थिएन। तर, त्यसदिन म त्यहाँ पनि गईनँ। खै के सुर चल्यो म बाईक लिएर पशुपति गएँ। बागमतीको किनारामा बसेर हेरिरहेँ जलिरहेका लाशहरू।
कति अचम्म छ यो संसारको लिला, बाचुञ्जेल तछाडमछाड गर्यो अनि अन्त्यमा यही माटोमा मिसिनुपर्छ। तै पनि कति अहम छ मानिसमा। म यस्तै सोचमा हराईरहेको थिएँ। मोबाईल बज्यो। आस्थाले म्यासेज गरेकी रहिछे। ‘म बानेश्वर क्याफेमा छु मिल्छ भने भेट्न आउ।’
म यसपटक आस्थालाई गुमाउन चाहन्न थिएँ। त्यसैले सरासर बानेश्वर क्याफेमा गएँ । ऊ कफि पिउँदै थिई । तर, ऊ एक्लै थिइन, उसँगैको चेयरमा अर्को एकजना केटा मान्छे पनि बसिरहेको थियो। जतिजति उसको नजिक गएँ त्यति त्यति आस्थासँग बस्ने त्यो मानिस मलाई परिचित लाग्न थाल्यो।
आस्थासँग बस्ने त्यो केटा अरु कोही नभएर मेरो अफिसको डिपार्टमेन्ट हेड सन्देश थियो। म छक्क परेँ। आस्थाले सन्देशलाई कसरी चिनी? कसरी भेट भयो दुई जनाको? म आस्थाको नजिक पुग्नेबित्तिकै उसले मलाई सन्देशसँग चिनाई । त्यतिमात्र हैन उसले सन्देशँसंग आफ्नो विवाह हुन लागेको कुरा समेत बताई। एउटै अफिसमा काम गर्ने भएर पनि मैले सन्देश र आस्थाको बारेमा थाहा पाउन सकिनँ। सन्देश र मैले मुखामुख गर्यौं। तर, मुख दुई जनामा कसैले पनि खोलेनौं। केही दिन अगाडि मेरो लागि आफ्नो मनमा अथाह प्रेम भएको बताउने आस्थाले केहीदिनपछि मलाई आफ्नो मनपरेको मान्छे भन्दै मेरै अफिसको मान्छेसँग परिचय गराई।
मलाई रूनु न हाँस्नु भयो। हुन त यो स्थितिको सृजना गर्ने म नै थिएँ । बिचरीले मलाई कति पर्खेकी थिई। मनमनै यति सोचेर अरु केही प्रश्न नगरेर सन्देश र आस्थाको सफल जीवनको कामना गर्दै आँखाभरी आँशु लिएर घर फर्किएँ।