सामाजिक अभियन्ता हर्ष मन्दरले हालै भनेका थिए– पाकिस्तानको सट्टा यो देश (भारत) चुन्ने मुसलमानहरूले अँध्यारोमा तीर हानेका थिएनन्। आफूसँग भएका थोरै छनौटमध्येबाट उनीहरूले भारतमै बस्ने निर्णय गरेका थिए। मेरो परिवारको सन्दर्भमा यो कुरा सही होइन, भारत विभाजनको समयमा मेरो परिवार लुधियानामा थियो, हिंसा उत्कर्षमा पुगेको थियो। त्यस्तो अन्योलको परिस्थितिमा मेरो परिवारले मुसलमान बाहुल्य पाकिस्तानको सट्टा धर्मनिरपेक्ष भारतमै बस्नै निधो गर्यो।
भारत स्वतन्त्र हुन एक वर्षअघि मेरो बुवाको जन्म मौलबी परिवारमा भएको थियो। मेरो हजुरबुवा मौलाना हबिब-उर-रहमान मजलिस-ए-अहरर नामको राजनीतिक पार्टीका संस्थापक र तेस्रो सभापति थिए। मौलाना अब्दुल कलाम आजादबाट प्रभावित भएर पञ्जाबका खालिफातीहरूले त्यो पार्टी स्थापना गरेका थिए। त्यो पार्टीले लगातार मुस्लिम लिगको विरोध गर्यो। पाकिस्तान स्थापनाको विपक्षमा त्यो पार्टी उभियो।
सन् १९३७ को प्रादेशिक निर्वाचनमा मजलिस-ए-अहररले पञ्जाब, संयुक्त प्रान्तहरू र आजको बिहारका केही स्थानमा चुनाव जित्यो। पञ्जाब र वरपरका क्षेत्रमा मुसलमान र अन्य सीमान्तकृत समूहको भलाइ सुनिश्चित गर्न र सामाजिक गतिविधि, उद्धार कार्य तथा निमुखालाई सहायता गरेकोले त्यो पार्टीले लोकप्रियता हासिल गरेको थियो। त्यसै आधारमा केही स्थानमा चुनावी सफलता हासिल गरेको थियो। सन् १९३५ मा गएको विनाशकारी क्वेटा भूकम्पको समयमा यो पार्टीले अथक रूपमा जनताको सेवा गर्यो। सन् १९४३ मा बङ्गालको अनिकालको समयमा पनि यस पार्टीले सक्रियतापूर्वक जनताको सहयोग गर्यो।