के ग्रहणको बेला मैथुन गरे सुँगुर होइन्छ ?
पुस १० गते, बिहीबार नेपाली आकाशमा सूर्यग्रहण देखिने बताइएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो सूर्यग्रहण खग्रास (पुरै ढाक्ने) नभएर खण्डग्रास (आधा ढाक्ने) मात्र हुने छ।
पौष कृष्ण औँसी तिथि परेको यो दिन विहान ८:४२ मा ग्रहण सुरू भएर ११:३१ बजे सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन्। उनका अनुसार सूर्यको धेरै भाग ढाक्ने समय भने विहानको १०:०१ बजे हुने छ।
नेपाली समाजमा सूर्यग्रहणलाई हेर्ने दृष्टिकोण विभाजित छ। भौतिक विज्ञानमा विश्वास गर्नेहरू यसलाई स्वभाविक रूपमा लिएर आफ्ना दैनिक क्रियाकलाप यथावत चलाउने गर्छन् ।यद्यपि, उनीहरू यसमा परावर्तित किरणहरूको प्रभाव रहने कुरामा विश्वास गर्छन् ।
तर, पुरेताई र सनातनीमा विश्वास गर्नेहरू अझै पनि सूर्यग्रहणमा चमेरे प्रवृति देख्छन् । र, ग्रहण लाग्नु चार प्रहरपहिलादेखि केही पनि खान नहुने बताउँछन् । उनीहरू यसलाई शास्त्रले भनेको भन्छन् र भोजनमा निषेध नै लगाउँछन्। तर, रोगी, बूढाबूढी र केटाकेटीले भने खाए हुने भनेर छुट पनि दिन्छन् ।
यसपटकको सूर्यग्रहणमा पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बुधबार बेलुकी ८:४२ बजेदेखि खानपिनलगायत महत्त्वपूर्ण काममा निषेध लगाएको छ। ज्योतिषहरू सूर्य ग्रहणमा चार प्रहर अघिदेखि सुतक लाग्ने कुरामा विश्वास गर्छन् । उनीहरूको मान्यता छ, सुतक लागेपछि भोजन गर्न हुदैन।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे किरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने बताइन्छ।
ग्रहणका बेला के के गर्न हुने र के के गर्न नहुने भन्ने एउटा लामो सूची नै सनातनी ज्योतिषहरूले सार्वजनिक गर्दै आएका छन्। उनीहरूका अनुसार ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे किरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुन्छ।
यसैगरी सनातनी ज्योतिषहरूले राशीका हिसाबले ग्रहण हेर्ने वा नहेर्नेको सूची पनि जारी गर्ने गर्छन्। उनीहरूले यसपालिको ग्रहण कर्कट, तुला, कुम्भ र मीन राशि हुनेले हेर्दा शुभ हुने र अन्य राशीकाले हेर्दा अशुभ हुने बताएका छन् ।