चिसो अत्यधिक बढेपछि झापाको दमक नगरपालिका भित्रका सबै विद्यालय आजदेखि तीन दिनका लागि बन्द भएका छन्।
नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकोले दैनिक पठनपाठनमा असहज भएको हुँदा पुस ९ गतेसम्मका लागि नगरका सबै विद्यालय बिदा गर्न सूचित गरेका हुन्।
अन्य बिदामा मिलान गर्ने गरी बिदा दिन नगरपालिकाको सूचनामा भनिएको छ। त्यस सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएको जनाइएको छ।
यसअघि जिल्लाकै गौरीगञ्ज गाउँपालिकाले पनि जाडोका कारण दैनिक पठनपाठन सञ्चालन गर्न कष्टकर भएको भन्दै आगामी मङ्गलबारसम्मका लागि तीन दिन नै विद्यालय बिदा गर्ने सार्वजनिक गरिसकेको छ ।
इनरुवा : एक हप्तादेखि बढेको अत्यधिक चिसोको कारण इनरुवा नगरपालिकाले दुई दिनका लागि नगर क्षेत्रभित्र रहेका विद्यालयमा बिदा दिएको छ।
इनरुवा नगरपालिकाले सूचना जारी गर्दै अत्यधिक चिसोका कारण इनरुवा नगर क्षेत्रका विद्यालयमा सोमबार र मङ्गलबार बिदा दिएको नगरपालिकाका प्रमुख राजन मेहताले बताए।
चिसोमा बालबालिकालाई आउनजान र पठनपाठन गर्नका लागि समस्या हुने भएकाले दुई दिनका लागि बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताए।
नगरपालिकाले दिने गरेको विद्यालय बिदाको विषयमा विभिन्न टिप्पणी भएपछि नगरपालिकाले स्थानीय सरोकारवालासँग छलफल र परामर्शपछि मात्र बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताए।(रासस)