सोमालियामा आएको बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार अरू तीन लाख ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित हुनु परेको छ ।
राष्ट्रसङ्घीय अधिकारीहरूले बाढीका कारण सोमालियामा ठूलो जनधनको क्षति भएको भन्दै सहयोगका लागि अपिल पनि गरेका छन् ।
राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी कार्यालयले बाढीबाट पाँच लाख ४७ हजार नागरिक प्रभावित भएको जनाएको छ ।
“देशको बेलेट वेयन जिल्लाका मात्रै ४५ हजार ५०० घर परिवारका झण्डै २ लाख ३७ हजार जना विस्थापित भएको अनुमान गरिएको छ,” कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
खेतीयोग्य जमिन, भौतिक संरचनाहरू, बाटोहरूलगायत पनि भत्किएर क्षतिग्रस्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
“बाढीका कारण हिर्साबेल्ले, जुबल्याण्ड र दक्षिणपश्चिमी राज्यहरू पनि प्रभावित भएका छन्,” राष्ट्रसङ्घले भनेको छ ।
विज्ञ र सरोकारवाला निकायहरूले नोभेम्बर महिनाभरी वर्षा भइरहन सक्ने चेतावनी दिएका छन् । उनीहरूले रोगको प्रकोप पनि फैलिन सक्ने बताएका छन् ।
लगातारको ठूलो वर्षाका कारण नदीमा पानीको सतह बढेर डुबान भएको अधिकारीहरूले जानकारी दिएका छन् ।