राष्ट्रपति ट्रम्पद्धारा अफगान राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा

तस्बिरः एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अफगान समकक्षी राष्ट्रपति मोहम्मद असरफ घानीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन्।

सो भ्रमणको निमन्त्रणा अफगान राष्ट्रपति घानीले स्वीकार पनि गरेका छन्। अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ।

उक्त विज्ञप्तिकाअनुसार अफगान राष्ट्रपति घानीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले आमन्त्रण गर्नुभएकोमा सो आमन्त्रण स्वीकार गरेको बताइएको छ।

हाल अफगान राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेका छन्। त्यस क्रममा भएको अमेरिकी राष्ट्रपति ट्रम्प र अफगान राष्ट्रपति घानीबीचको फोनवार्तामा राष्ट्रपति ट्रम्पले आमन्त्रण गरेका थिए।

उनीहरुबीच शुक्रबार बिहान फोनवार्ता भएको र त्यसैक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना अफगान समकक्षीलाई अमेरिका भ्रमणमा आउन आमन्त्रण गरेको उक्त विज्ञप्तिमा जनाइएको छ।

त्यसक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई जना अमेरिकी प्रध्यापकलाई अफगानिस्तानबाट मुक्त गरिदिएकोमा अफगान राष्ट्रपतिलाई धन्यवाद दिएका थिए।

त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा रहेका इस्लामिक स्टेट्सका लडाकूहरुलाई अफगान सुरक्षाफौजले परास्त गर्ने काम गरेकोमा प्रसंशा पनि गरेका थिए।

गएका केही महिना यताको अवस्था हेर्दा अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा ठूलो संख्यामा इस्लामिक स्टेट्सका लडाकूहरुलाई यहाँको सुरक्षाफौजले लखेटेको छ।

केही हप्ता यता यस प्रान्तमा रहेका इस्लामिक स्टेट्सका लडाकूहरु र तिनको परिवारका सदस्यहरु समेत गरी करिब ६०० जनाले सुरक्षा फौजसमक्ष आत्मसमर्पण गरेका छन्।

यो कार्यको अमेरिकी राष्ट्रपति ट्रम्पले प्रशंसा गरेका छन्। सो टेलिफोन वार्ताका क्रममा अफगानिस्तानको हालको शान्ति सुरक्षाको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ।

विज्ञप्तिकाअनुसार अफगानिस्तानमा जारी तालिबानहरुको हिंसा र यसको नियन्त्रणका लागि जारी सैन्य गतिविधिहरुका साथ यहाँ कार्यरत अमेरिकी सेनाको विषययमा पनि सो टेलिफोन वार्तामा कुराकानी भएको थियो।

प्रकाशित मिति: : 2019-11-22 13:40:57

प्रतिकृया दिनुहोस्