बोलिभियामा १४ वर्षपछि ढल्यो मोरालेसको शासन

तस्बिरः एजेन्सी

ल्याटिन अमेरिकी देश बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा दिएका छन्। उनी सन् २००६ मा आदिवासी समुदायबाट बोलिभियाको पहिलो राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए। उनले अक्टोवर २० मा भएको राष्ट्रिय निर्वाचनमा आफू विजयी भएको घोषणा गरेका थिए। त्यसयता विपक्षीहरुले निर्वाचनको नतिजा अस्वीकार गरी देशव्यापी हिंसात्मक प्रदर्शन जारी राखेका थिए।

यस्तो अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

लामो समयदेखि सत्तामा रहेका मोरालेसका मन्त्री एवं वरिष्ट अधिकारीहरुले पनि एकाएक राजिनामा दिएपछि उनी थप सङ्कटमा परेका थिए। बामपन्थी राजनीतिज्ञ एवं साम्राज्यवाद विरोधि नेताको छवि बनाएका उनलाई पछिल्लो समय सेनाले समेत साथ छोडेपछि टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजिनामा दिएको घोषणा गरेका थिए। उनको राजिनामा घोषणासँगै राजधानी ला पाजमा विपक्षीहरुले विशाल जुलुस निकालि खुसी मनाइरहेका छन्।

त्यहाँको सशस्त्र फौज र प्रहरी दुबैले राष्ट्रपतिलाई राजिनामा गर्न सुझाएका थिए। सशस्त्र फौजका प्रमुख एवं सेनापति विलियम्स कलिम्यानले संवाददाताहरुसँग कुरा गर्दै मुलुकको स्थायित्व, विकास र सडक प्रदर्शन मत्थर पार्न मोरालेसलाई आफूले राजिनामा गर्न सुझाएको बताए।

बोलिभियाका पूर्व राष्ट्रपति एवं मुख्य विपक्षी दलका नेता कार्लोस मेसाले बोलिभियाली जनताले विश्वलाई नै नयाँ सन्देश दिएको बताएका छन्। उनले बोलिभियालाई नयाँ र समृद्ध देशमा रुपान्तरण गर्न पछिल्लो कदमले मद्दत गर्ने विश्वास व्यक्त गरे।

राजिनामा गर्नेक्रममा मोरालेसले आफ्नो कार्यकालमा भोकमरी र गरिबी कम गर्न ठूलो सफलता प्राप्त गरेको दाबी गरेका थिए। उनले ट्वीट गर्दै आफूलाई गिरफ्तार गर्न सुरक्षाकर्मी पक्राउपूर्जी सहित आएको तथा आफ्नो घरमा पनि आक्रमणकारी समूहले ढुंगामुडा गरेको बताएका छन्। तर प्रहरी प्रमुख भ्लादिमिर युरी काल्डेरोनले भने मोरालेसको भनाईमा सत्यता नरहेको दाबी गरे। बरु प्रहरीले आइतबार राति निर्वाचन अदालतका प्रमुख मारिया युजेनिया चोकलाई गिरफ्तार गरेको छ। विपक्षीहरुले यही अदालतको आडमा मोरालेसले चुनाव जितेको आरोप लगाउँदै आएका थिए।

यसैबीच कम्तीमा २० जना सांसद र वरिष्ट सरकारी अधिकारीहरुले बोलिभियास्थित मेक्सिकोको राजदूतावासमा शरण लिएका छन्। मेक्सिकोले राष्ट्रपति मोरालेसलाई पनि शरण दिन तयार रहेको घोषणा गरेको छ। तर मोरालेस देशको मध्य प्रान्त कोचाबाम्बाको चिमोरेमा आदिवासी जनतासँगै बस्ने बताएका छन्। 'हामी फेरि फर्कनेछौँ र हामी टुपाक अमारु दोस्रो जस्तै दसौँ लाखको सङ्ख्यामा हुनेछौ।' मोरालेसले घोषणा गरेका छन्।

मोरालेसले बोलिभियाको राष्ट्रपति भई करिब १४ वर्ष शासन गरेका थिए। तर यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा उनी झिने मतान्तरले चौथो कार्यकालका लागि विजयी भएका थिए। विपक्षीहरुले धाँधली गरेर चुनाव जितेको भन्दै चुनावी परिणाम अस्वीकार गरेका थिए। त्यसयता भएको प्रदर्शनमा तीन जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए।

विरोध प्रदर्शन जारी रहेकै अवस्थामा मोरालेसले नयाँ चुनावका लागि पनि प्रस्ताव गरेका थिए। तर विपक्षीहरुले नमानेपछि उनी राजिनामा दिन बाध्य भए। उनको राजिनामा सँगै उपराष्ट्रपति अल्भारो गार्सिया लिनेराले पनि राजीनामा दिएका छन्।

राष्ट्रपतिबाट राजिनामा गरेको अवस्थामा मुलुकको राष्ट्रपति को हुने भन्ने अन्यौल छ। बोलिभियाको संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिले राजीनामा दिएपछि त्यहाँको माथिल्लो सदन–सिनेटका बहुमतका नेता राष्ट्रपति बन्नेछन् तर सिनेटका अध्यक्ष आड्रियाना साल्भाटियरा मोरालेसकै मास पार्टीको भएका कारण उनलाई पनि राजीनामा गर्न लगाइएको छ। यस्तो अवस्थामा बोलिभियामा थप संकट आउन सक्ने चेतावनी अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले बताएका छन्।

प्रकाशित मिति: : 2019-11-11 20:06:56

प्रतिकृया दिनुहोस्