ट्रम्पविरुद्ध महाअभियोग जाँच सुरु गर्ने प्रस्ताव तल्लो सदनबाट स्वीकृत

तस्बिरः एजेन्सी

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ । डेमोक्रेट्सको बहुमत रहेको तल्लो सदनमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगका लागि समर्थन जुटाउने यो पहिलो औपचारिक कोसिस हो ।

आज हाउस अफ रिप्रिजेन्टेटिभमा भएको मतदानको पक्षमा २३२ र विपक्षमा १९६ मत परेको थियो । विपक्षमा सबै रिपब्लिकन सांसदले मतदान गरे पनि दुईजना डमोक्रेट सांसदले पक्षमा मतदान गरेनन् । विपक्षमा मतदान गर्ने डेमोक्रेट सांसदमा न्युजर्जीका जेफ भ्यान ड्रयु र मिनेसोटाका कोलिन पिटरसन थिए । संसदमा रहेका एक मात्र स्वतन्त्र सांसद जस्टिन ओमासले पनि पक्षमा मतदान गरे । रिपब्लिकन पार्टीबाट विजयी उनले यस वर्षको सुरूमा पार्टी परित्याग गरी स्वतन्त्र भएका थिए । 

महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत हुनुको अर्थ राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउन मन्जुरी प्राप्त भएको होइन, बरु यसबाट ट्रम्पविरुद्धको जाँच सार्वजनिक चरणमा पुगेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि आफ्नो राजनीतिक प्रतिद्वन्द्वी जो बाइडन र उनका छोराविरुद्ध कथित भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएको आरोप छ । अमेरिकी पूर्वउपराष्ट्रपति जो बाइडन सन् २०२० मा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने तयारीमा छन् ।

उनले हालका राष्ट्रपति ट्रम्पलाई टक्कर दिने अनुमान कतिपयले गरेका छन् । त्यसैले उनलाई आफ्नो बाटोबाट हटाउन ट्रम्पले भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्न युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीलाई दबाब दिएको आरोप छ ।

ट्रम्पले भने युक्रेनका राष्ट्रपतिसँग आफ्नो राजनीतिक प्रतिद्वन्द्वीको बारेमा छलफल गरेको भए पनि भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न दबाब भने नदिएको बताउँदै आएका छन् ।

ट्रम्पलाई पदमुक्त गर्न तल्लो सदनका सांसदको पर्याप्त संख्या भए पनि माथिल्लो सदन सिनेटको दुई तिहाइ पुर्याउन भने लगभग असम्भव नै छ । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस घटनालाई अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो चुँडेलको शिकारको उपमा दिएका छन् । 

 

प्रकाशित मिति: : 2019-11-01 08:09:11

प्रतिकृया दिनुहोस्