यो अमेरिकी 'युद्ध-नायक' हो, तर नाम चाँहि लिन पाइँदैन !

अमेरिकी युद्धनायक जसले अल-बग्दादीलाई आत्महत्या रोज्न बाध्य पार्यो । तस्बिर : ट्रम्प ट्विट

यो कुकुर अहिले अमेरिकी 'युद्ध-नायक' भएको छ ।

यो त्यही कुकुर हो जसले आईएस सुप्रिमो अल-बग्दादीलाई उसकै सुरुङमा पसेर लखेटेको थियो, आक्रमण गरेको थियो । र, अन्तत: ऊ सुसाइडल ज्याकेट विस्फोट गराएर यो संसारलाई अलविदा भन्न बाध्य भएको थियो । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अल-बग्दादीको अन्तको कारण बनेको कुकुरको तस्बिर सार्वजिक गरेका छन् । बेल्जियन मालिनोज जातिको यो कुकुरको नाम भने 'डिक्लासिफाइड' सूचीमा राखिएको छ । यसको अर्थ अमेरिकी कानुनअनुसार यो कुकुरको नाम सार्बजनिक गर्न पाइदैन ।

अपरेसनका क्रममा सामान्य घाइते भएको यो युद्ध-नायकको उपचार भैरहेको बताइएको छ । ऊ निको भएर छिटै नै काममा फर्कने अपेक्षा अमेरिकी सेनाले गरेको छ ।

यही युद्धनायक कुकुरको चलाखीपूर्ण आक्रमणका कारण एकजना पनि अमेरिकी सेना हताहती नभई संसारकै सबैभन्दा ठूलो आतंकवादीको अन्त भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, यो सुन्दर अनि मेधावी हिरोको जति नै प्रशंसा गरे पनि कमै हुन्छ । यसले एक ठूलो आतंकवादीलाई कायरको मृत्यु रोज्न बाध्य बनायो । ' 

यो पनि पढ्नुहोस् 

अमेरिकामा आज भाइटीका : हात-निधार खालि नराख्न चेली-माइतीको जोहो

यसैबीच यस युद्धनायकले अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसमा ट्रम्पसँग भेट गर्न पाउने भएको छ । ऊ निको भएर छुट्टि पाउँने बितिकै उसलाई ह्वाइट हाउसमा स्वागत गरिने भएको छ । राष्ट्रपति ट्रम्पले भनेका छन्, ' म यो युद्ध-नायकलाई ह्वाइट हाउसमा स्वागत गर्न आतुर छु ।'

यसअघि सन् २०११ मा पाकिस्तानमा असामा बिन लादेनविरूद्धको कारबाहीमा पनि अर्को बहादर कुकुर प्रयोग गरिएको थियो । मालिनोज जातिकै त्यो कुकुरको नाम कायरो थियो । त्यतिबेला कुकुरको नाम सार्वजनिक गरिए पनि यसपटक भने उसको नाम 'डिक्लासिफाइड' सूचीमा राखिएको छ । 

 

 

 

प्रकाशित मिति: : 2019-10-29 23:29:33

प्रतिकृया दिनुहोस्