अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघको ७४औं महासभामा सहभागी हुन आएका विश्वका १९० भन्दा बढीका राष्ट्रका नेतालाई रात्रीभोज दिएका छन् ।
न्युयोर्ककको म्यानहट्टनस्थित ४५५ म्याडिसन एभेन्युमा रहेको लोट्टे न्युयोर्क प्यालेसमा उनले रात्रीभोज दिएका हुन् ।
राष्ट्रसंघको मुख्यालय न्युयोर्क रहेको देशको राष्ट्रप्रमुख भएकाले अमेरिकी राष्ट्रपतिले यस्तो भोज दिने प्रचलन रहेको छ।
त्यही प्रचलन निर्वाह गर्ने क्रममा राष्ट्र संघको महासभामा देशको टोलीनेताका रूपमा सहभागी हुन आएका नेताले अमेरिकी राष्ट्रपतिसँग बढीमा दुई मिनेटसम्मको पालैपालो भेटघाट गर्छन् ।
कुनै पनि किसिमको एजेण्डाबिनाको यो भेटघाट एक किसिमले भन्ने हो भने अमेरिकी राष्ट्रपतिसँगको फोटो शेसन हो ।
प्रतिनिधिमण्डलका नेता एक्लै वा दोक्लै जुन अवस्थामा आएका हुन्छन् उनीहरूलाई अमेरिकी राष्ट्रपतिसँग भेटघाट गराइन्छ । पालैपिच्छे गराइने यो भेटघाट क्रममा नाम उद्द्घोष हुन्छ अनि त्यो देशका अरूले ढोकासम्म नेता र उनीकी पत्नीलाई पुर्याइदिन्छन् । त्यसपछि नेता हिड्दै अमेरिकी राष्ट्रपति र प्रथम महिला भएसम्म पुग्छन्, त्यहाँ हात मिलाउने काम हुन्छ । तपाईलाई कस्तो छ ? भन्ने प्रश्न आदानप्रदान गरिन्छ । अमेरिकी राष्ट्रपतिले चाहे भने बढीमा कुनै घटना विशेष वा व्यक्ति विशेष भनेर सोध्ने गरिन्छ ।
त्यसपछि फोटो शेसन हुन्छ र उनीहरू फर्कन्छन् ।
हुने यति नै हो । तर, यसलाई सम्बन्धित देशको नेताले ल्याएका सञ्चारकरर्मी वा न्युयोर्कमै रहेका त्यो मूलका सञ्चारकमर्मीले आआफ्नो रूचि र चाहनाको शीर्षक दिएर समाचार बनाउँछन् । कसैले त्यसलाई चाहिनेभन्दा ठूलो बनाएर प्रोपोगण्डा बनाउँछन्, कसैले एक मिनेटको घेटघाट भनेर त्यसको महत्वलाई मिनेटमा घटाइ दिन्छन्, कसैले यो सनानतनलाई समाचार नै ठान्दैनन् र डम्प गरिदिन्छन् ।
नेपालको हकमा भने यो समाचार बन्छ ।
यसपटक नेपालको सहभागिता मन्त्रिस्तरीय मात्र छ । तीनमन्त्रीसहितको टोलीमा उपप्रधानमन्त्री उपेन्द्र यादव भए पनि उनी सानो दलका भएको र अर्कै मन्त्रालय हेरर्न भएकाले उनी नेता हैन, सदस्यका रूपमा आएका छन् । यसपटक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली टोलीनेता छन् र उनको साथमा धर्मपत्नी सरस्वती ज्ञवाली पनि छिन् ।
यो पनि हेर्नुहोस्
न्यूयोर्क पुगेपछि परराष्ट्र मन्त्रीको पहिलो कुराकानी
यसपटक अमेरिकाको राष्ट्रपति ट्रम्प छन् र प्रथम महिला मेलानिया । उनीहरूले दिएको भोजमा नेपालको तर्फबाट प्रदीप ज्ञवाली र सरस्वती ज्ञवाली सहभागी भए ।
यो रात्रिभोजका क्रममा अघि भनेजस्तै प्रकिया दोहोरियो । तर, यसपटक नेपालको सहभागिता मन्त्रीस्तरमा भएकाले ट्रम्पले नेपाललाइ त्यति धेरै महत्व दिने कारण पनि थिएन, नेपालको नाम त निपल भन्ने ट्रम्पले ओलीलाई नै चिन्दैनन् होला, ज्ञवालीलाई चिन्ने कुरा त धेरै टाढाको कुरा भयो ।
त्यसमा पनि आफूविरूद्ध महाअभियोगको खाता खोलिएकै दिन दिनुपरेको भोजका दिन उनको तनाव खपिनसक्नु हुनु स्वभाविकै थियो । यस्तो अवस्थामा उनले ठूलो महत्वका साथ नेपालका परराष्ट्रमन्त्रीसँग भेटवार्ता नै गरे भन्ने कुरा बेकारको कुरा हो ।
उनले हात मिलाउँदै नेपाललाई कस्तो छ भने भने होला जवाफमा राम्रो गरिरहेको छ भनियो होला । त्यसपछि मन्त्री ज्ञवालीले राष्ट्रपति महोदय, तपाईलाई कस्तो छ भने होलान् । उनले फेन्टास्टिक भने होलान् । त्योभन्दा बढी भयो भने ज्ञवालीले नेपाल-अमेरिकाको सम्वन्ध राम्रो हुदै गएको बताए होला ।
त्यसपछि लाइन लागेर फोटो खिचे । धन्यवाद आदानप्रदान भयो । कुरै खतम् ।
अब यो फोटो कम्युनिष्ट मन्त्री ज्ञवालीका लागि साम्राज्यवादी अमेरिकी राष्ट्रपति ट्रम्पको सोभिनियर हुनेछ । यदाकदा हात मिलाएको पनि सम्झना आउन सक्छ । साहित्यकार हुन् मन्त्री/मन्त्राणी दुबै, कुनै दिन संस्मरण पनि नआउला भन्न सकिन्न ।
यो एउटा कर्मकाण्डी भेट हो, मन्त्रीले चाँहि आक्कलझुक्कल मात्र पाउँने यो अवसर प्रदीप ज्ञवालीलाई मिल्यो । उनी आफ्ना प्रधानमन्त्री विरामी भएको र उपप्रधानमन्त्री नै भए पनि उपेन्द्र यादव टोली सदस्यमा खुम्चिन राजी भएकाले यो अवसर पाउँने भाग्यमाानी नेपालका परराष्ट्रमन्त्री बने । अमेरिकामा यसपटक उनी टोलीनेता हुँदा ट्रम्प राष्ट्रपति थिए- यो चाँहि उनको लागि उपलव्ध च्वाइस थिएन, म्यान्डेटरी थियो ।