नेपालमा पुस्तकालय बनाउँन अमेरिकामा गाला डिनर

कर्मभूमिमा गाला डिनर आयोजना गर्दै जन्मभूमिमा पुस्तकालयका लागि सहयोग जुटाउँदै मौसमी श्रेष्ठ । तस्विर : स्वयम्भु शाक्य

अमेरिकामा डिनर खाएर नेपालमा पुस्तकालयका लागि योगदान पुग्ने एउटा गाला डिनर कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम बाक्लो नेपाली डायस्पोरा रहेको टेक्सासको डल्लासस्थित पाँचतारे हिल्टन होटलमा नेपाल जर्नीले आयोजना गरेको हो । पेशाले नर्स रहेकी मौसमी श्रेष्ठको अगुवाईमा रहेको यो संस्थाले नेपालको खासगरी शिक्षा क्षेत्रमा योगदान दिनका लागि विगत चार वर्षदेखि गाला डिनरलगायतका च्यारिटी कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसपटक चितवनको भरतपुर ४ लंकुमा दुई करोडको लागतमा पुस्तकालय निर्माण गर्न गाला डिनर आयोजना गरिएको संयोजक श्रेष्ठले बताइन् । उनका अनुसार डिनरबाट ६० लाख रकम जम्मा भैसकेको छ ।

ड्यालासका नेपाली र अन्य समुदायका ब्यक्तिको समेत सहभागितामा आयोजित गाला डिनरमा नेपाली संस्कृति र पर्यटन प्रवद्धनको साइडलाइन कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि आइडिया फर नेपालकी अन्तर्राष्ट्रिय निर्देशक चिंग चिंग छी थिइन् भने स्थानीय बेलर स्कट एण्ड ह्वाईट हेल्थका डाक्टर डोनाल्ड ई सेवेल मुख्य बक्ता रहेका थिए ।

 

वक्ताहरूले कार्यक्रमको सफलताको शुभकामना दिदै संयोजक श्रेष्ठको प्रशंसा गरे । 

 

प्रकाशित मिति: : 2019-09-18 02:21:39

प्रतिकृया दिनुहोस्