गुड्ला त न्युयोर्कको 'यल्लो क्याव'को ढाडमा नेपाल ?

अमरिकाको न्युयोर्कमा गुड्ने 'यल्लो क्याव'को ढाडमा नेपाल भ्रमण वर्ष २०२० । तस्बिर सौजन्य : खगेन्द्र जीसीको फेसबुक

न्युयोर्कको पुरानै पहिचान हो - यल्लो क्याव । हजारौको संख्यामा न्युयोर्कभरि २४सै घण्टा गुड्ने यल्लो क्याव न्युयोर्कको पुरानो तर भरपर्दो सार्वजनिक सवारी साधनको ब्राण्ड हो । उबरलगायत अनेकौ नामका आधुनिक प्रतिस्पर्धी आए पनि न्युयोर्कमा यल्लो क्यावको गति केही धिमा भएको होला तर रोकिएको छैन ।

न्युयोर्कमा यल्लो क्यावले यात्रुलाई गन्तव्यमा त पुर्याउँछ नै, यसको ढाडमाथि उत्पादन वा सेवाको डिस्प्ले राखेर सहरभरि घुमाउने काम पनि गर्छ । यसो गर्दा दिनहुँ लाखौ मानिसको आँखामा त्यो उत्पादन वा सेवाको प्रभावकारी विज्ञापन हुन्छ ।

अमेरिकामा नेपाली मुलका पहिलो कानून व्यवसायी खगेन्द्र क्षेत्रीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सेप्टेम्बर १३ मा यल्लो क्यावको ढाडमाथि नेपाल भ्रमण वर्ष २०२० को डिस्प्ले राखेको तस्बिर सार्वजनिक गरे । यो समाचार तयार पाररिरहेको बेलासम्म २७६ प्रतिक्रिया, २१ टिप्पणी र १० सेयर गरिएको छ । प्रतिक्रियामध्ये धेरै सकारात्मक छन् । अधिकांशले त यो कार्य जीसीले नै गरेको भनेर धन्यवाद पनि दिएका छन् । हामीले यस बारेमा बुझ्न जीसीसँग सम्पर्क गर्न खोज्दा कानुन व्यवसायी जीसीले आफू यसमा संलग्न नभएको बताउँदै भने,  'कसैले गर्न लागेको रहेछ, नेपालको पक्षमा राम्रो काम भनेर सेयर गरिदिएको हुँ ।'

फेसबुकमा चाँहि यल्लो क्यावको ढाडमा नेपाल गुडेको होला । अमेरिकाका ठूला नेपालीहरू बेला बेलामा फेसबुकमा अनेकौ चटक गरिरहेकै हुन्छन् । यो पनि त्यस्तै नयाँ चटक होला ।

अनि हामीले न्युयोर्कमा यल्लो क्याव चलाइरहेकै केही नेपालीसँग बुझ्न खोज्यौ । तर, उनीहरूले आफूले यल्लो क्यावमा यस्तो डिस्प्ले नदेखेको बताए । एकजना चालकले त मुखै खोलेर भने, 'फेसबुकमा चाँहि यल्लो क्यावको ढाडमा नेपाल गुडेको होला । अमेरिकाका ठूला नेपालीहरू बेला बेलामा फेसबुकमा अनेकौ चटक गरिरहेकै हुन्छन् । यो पनि त्यस्तै नयाँ चटक होला ।' 

जे होस् न्युयोर्कमा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने एउटा महत्वपूर्ण आउटलेट हुन सक्छ यल्लो क्यावको ढाड । चार साताका लागि आठ सयदेखि दुईहजारसम्म भाडामा पाइने यल्लो क्यावका यी ढाडमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न सके, त्यसको राम्रै प्रभाव पर्नसक्ने देखिन्छ । तर, डमी बनाएर फेसबुक पेजमा मात्र गुडाइएको हो भने यो अर्को एक ठगी चटक हो जसका लागि त्यस्तो गर्ने सन्तान धन्य हुन सक्दैन ।

प्रकाशित मिति: : 2019-09-16 00:20:41

प्रतिकृया दिनुहोस्