नेपालद्वारा अमेरिकी राइफल किन्ने सम्झौता रद्द : पेन्टागनले गर्यो पुष्टी

अमेरिकी राइफल किन्ने सम्झौता रद्द । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

नेपालले अमेरिकासँग हतियार किन्न गरेको सम्झौता रद्द गरिदिएको छ ।

अमेरिकी रक्षा विभाग पेन्टागनले यसको पुष्टि गरेको छ । पेन्टागनका एक अधिकारीका अनुसार नेपाल सरकारको आधिकारिक च्यानलबाट भुक्तानी प्रक्रियामा समस्या देखाउँदै नेपालले रक्षा सामग्री खरिद सम्झौता रद्द गरेको  बताएका छन् ।

उनका अनुसार नेपालले ५ हजार थान एम–१६ राइफल खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौता रद्द भएको हो ।

उनले नेपालका कारण सम्झौता रद्द भएको बताउँदै लामो समयअघि भएको सम्झौता भंग हुनु सुखद नभएको बताए । 

उता काठमाडौंमा पनि रक्षा मन्त्रालयका एक अधिकारीले भुक्तानीका लागि समस्या आएपछि सम्झौता रद्द भएको बताएका छन् । उनले अमेरिकामा एकैपटक पहिलै भुक्तानी गर्नुपर्ने कानुनी प्रावधान रहेको र नेपालमा किस्तावन्दीमा तिर्नुपर्ने कानूनी प्रावधान रहेकोले यस्तो परिस्थिति सिर्जना भएको बताए ।

भुक्तानीको प्रावधान नमिलेकाले अन्तिम समयमा आएर खरिद प्रक्रिया नै रद्द गर्नुपरेको बताउँदै उनले यसलाई अन्यथा लिन नहुने बताए ।

यसैबीच नेपाल सरकारले दक्षिण कोरियाबाट हतियार किन्ने सम्झौता गरेको बताइएको  छ । अमेरिकालाई नचिढाउन पनि उसकै सहयोगीबाट हतियार किन्न लागेको अनुमान गरिएको छ । 

नेपालको रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार दक्षिण कोरियाको एसएन्डटी मोटिभ कम्पनीबाट ५ हजार ७ सय थान कोरियाली राइफल किनिने छ । करिव चार अर्ब रूपैयाको यो सम्झौताअनुसार नेपालले सन् २०२० जुन १५ सम्ममा  हतियार पाइसक्ने छ । 

प्रकाशित मिति: : 2019-08-31 09:45:02

प्रतिकृया दिनुहोस्