यो तस्बिर हो- अमेरिकी सपना चकनाचुर भएका एक होमलेस नेपालीको । उनलाई जो कोहीले चिन्न नसकोस् भनेर संसार देख्ने उनका सुन्दर आँखा र अनि त्योभन्दा माथिको इज्जत मानिने शिर जानी जानी छोपिएको छ । उनलाई कहिलै नसुत्ने न्युयोर्क महानगरीको मिनी नेपाल ज्याक्सन हाइट्सबाट उद्घार गरिएको हो ।
अमेरिकाको मिनी नेपाल भनिने ज्याक्सन हाइट्सका नेपालीको ज्यान मानिने सेभेन ट्रेन स्टेशनबाट उनलाई अत्यन्तै नाजुक अवस्थामा उद्द्धार गरिएको हो । उनको परिचय खुलाइएको छैन । तर, उनलाई उद्धार गरर्ने न्युयोर्कका सोनाम घिसिङ, किरण नगरकोटी र राजन गुरुङले उनको स्थायी घर नेपालको पोखरा बताएका छन् । अन्दाजी ४० वर्षका क्षेत्री थरका उनी अमेरिकाको मेरिल्याण्डमा बस्दै आएको सम्म उनीहरूले भनेका छन् ।
न्युयोर्कको ज्याक्सनहाइट्समा एकजना नेपाली युवाले नै मरणासन्न हुनेगरी कुटेपछि मानसिक सन्तुलन गुमाएका उनीसँग केही छेन। उनीसँग न पासपोर्ट छ, न सोसल सेक्युरिटी कार्ड र स्टेट आईडी नै छ । उनको परिचय दिने सबै सामग्री चोरिएको बताइएको छ ।
उद्धारकर्ताहरूले उनको नेपालमा रहेको परिवारलाई सम्पर्क गरेर एकसाताभित्र नेपाल पठाउने अभियान सुरू गरेको छन् । यसका लागि ६ हजार अमेरिकी डलर संकलनको लक्ष्य लिएर गो फण्डमी अभियान सुरू गरिएको छ ।
मानिसलाई समय, भाग्य र नियतिले के मात्र बनाउँदैन?, कहाँ मात्र पुर्याउँदैन ? यिनै प्रश्नहरूको उत्तर हो यो नेपाली । आज उनको उज्जतका लागि परिचय लुकाएर जन्मभूमि फर्काउन गो फण्ड मी अभियानको सहारा लिनु परेको छ ।
कुनै दिन उनी पनि अमेरिकी सपना लिएर अवसरको देश अमेरिका छिरेका थिए होलान् । आमाबाबुको आशीर्वाद लिएर विदाइ हुँदै उत्साह र उमंगका साथ अमेरिका उडेका थिए होलान् । तर, आज परिस्थितिले उनलाई यो हालतमा पुर्याएर नेपाल फर्कनुपर्ने अवस्थामा पुर्याएको छ ।
यस्ता तस्बिर र घटनाहरूले मानिसलाई सोच्न बाध्य बनाउँछन् - आखिर जीवन के रहेछ र ? चर्चा र प्रशंसाको लागि जे पनि गर्न तयार भएर बनाएको नाम कुनै पनि मोडमा लुकाउनुपर्ने हुन सक्ने रहेछ ।