अमेरिकी राष्ट्रपतिद्वारा 'चेन माइग्रेसन' को सट्टा 'मेरिट बेस्ड' अध्यागमन नीति प्रस्ताव

रोज गार्डेनमा नयाँ अध्यागमन नीति सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प । तस्विर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो अमेरिकी आप्रवासी नीति सार्वजनिक गरेका छन्।हवाइट हाउसको रोज गार्डेनबाट बिहिबार सार्वजनिक गरिएको नयाँ आप्रवासी नीति चेन माइग्रेसबाट क्रमश: मेरिट बेस्ड माइग्रेसनमा लैजाने मूल दिशामा आधारित छ। 

राष्ट्रपति ट्रम्पले अमेरिकामा रहेका आप्रवासीका अयोग्य आफन्तलाई ल्याएर अमेरिका उभो नलाग्ने बताउँदै क्षमतामा आधारित दक्ष आप्रवासीलाई ल्याउनुपर्ने बताए। उनले अहिले १२ प्रतिशत क्षमताका आधारमा र ६६ प्रतिशत पारिवारिक आधारमा अमेरिकामा आप्रवासीहरू आइरहेकोमा अब ५७ प्रतिशत क्षमताका आधारमा र ३३ प्रतिशत पारिवारिक आधारमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन्। बाँकि १० प्रतिशत शरणार्थी र मानवीय आधारमा ल्याउनुपर्ने उनको प्रस्ताव छ। 

उनले आफ्नो आप्रवासी नीतिमा उमेर, शिक्षा, अंग्रेजी भाषाको दक्षता र अमेरिकामा उच्च पारश्रमिक पाउँने क्षमता गरी चार आधारमा पोइन्ट दिने र त्यही पोइन्ट सिष्टमका आधारमा आप्रवासीलाई अमेरिकामा ल्याउनुपर्ने उल्लेख गरेका छन्। उनले प्रवेशकै बेला अमेरिकी इतिहास, संस्कार, संस्कृति, भूगलो, राजनीतिकालगायतका विषय समेटेर सिभिक्स टेष्ट उत्तीर्ण हुनुपर्ने प्रावधान पनि अगाडि सारेका छन्।

यसैगरी उनले भाग्यामा आधारित डाइभर्सिटी भिसाको सट्टा बिल्ड अमेरिका भिसा प्रोग्राम प्रस्ताव गरेका छन्। यसअन्तर्गत प्राविधिक रूपमा दक्ष र अतिरिक्त प्रतिभा भएका विद्यार्थीलाई भिसा दिने प्रस्ताव गरेका छन्। 

राष्ट्रपति ट्रम्पले आफ्नो यो प्रस्तावलाई डेमोक्रेटहरूले समर्थन गर्ने झिनो आशा रहेको बताए । उनले डेमाोक्रेटहरू अमेरिका र अमेरिकी जनताको हितभन्दा आप्रवासी र बाह्य देशको हित हेर्ने आरोप लगाउँदै भने- यदि उनीहरूले साथ नदिए सन् २०२० को चुनावमा राष्ट्रपतिसहित हाउसमा बहुमत ल्याएर यो अमेरिकीमैत्री आप्रवासी नीति लागु गरि छोड्ने बताए।

यसैबीच डेमोक्रेटिक पार्टीका बरिष्ठ नेताहरूले राष्ट्रपति ट्रम्पको प्रस्तावित अध्यागमन नीति विगत दुई वर्षदेखि राष्ट्रपति ट्रम्पले अलाप्दै आएको बेमौसमी राग भन्दै यसमा कुनै नयाँपन नभएको बताएका छन्। सिनेटमा माइनरटी लिडर चक सुमरले यो अध्यागमनसम्बन्धी प्रगतिशील सोच नै नभएको भन्दै ठाडै खारेज गरे। उनले भने, 'अमेरिका योभन्दा धेरै अगाडि पुगेको छ। अब यस्तो जातिवादी, वर्णवादी सोचले अमेरिकाको अध्यागमन नीति चल्न सक्दैन।' उनले यस नीतिलाई जातवादी मत आफ्नो पक्षमा पार्ने चुनावी हतकण्डा भएको आरोप पनि लगाए। 

 

प्रकाशित मिति: : 2019-05-17 03:22:39

प्रतिकृया दिनुहोस्