अमेरिका र चीनबीचको ब्यापार युद्धको प्रत्यक्ष असर अमेरिकी अर्थतन्त्रमा देखिन थालेको छ। अमेरिकाले गत शुक्रबार दुईसय अर्व डलरका चिनिया सामानमा कर बढाएको प्रतिक्रियास्वरूप चीनले साठी अर्ब डलरका अमेरिकी समानमा थप कर लगाउने चिनियाँ घोषणापछि अमेरिकी शेयर बजारमा गिरावट आएको छ।
अमेरिकी शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झर्दा छ सय भन्दा कम बिन्दुमा आएर रोकिएको छ।
अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले आगामी जुन १ देखि लागु हुनेगरी ६० अर्ब डलरका अमेरिकी सामानमा पाँचदेखि २५ प्रतिशतसम्म कर थप्ने घोषणा गरेको छ।
चीनले मासु, सागसब्जी, फलफूलको रस, खाने तेल, चिया र कफीजस्ता पाँच हजार जति अमेरिकी सामानमा कर थप्ने निर्णय गरेको छ।
अमेरिकाको राजधानी वासिङ्टन डीसीमा अमेरिकी र चीनिया उच्च प्रतिनिधमण्डलबीच वार्ता भैरहेकै बेला अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि दबाब बढाउन एकतर्फि रूपमा चिनिया सामानमा कर बढाएका थिए।
ट्रम्पले चीनलाई कर नबढाउन चेतावनी पनि दिएका थिए तर त्यसको बेवास्ता गर्दै चीनले पनि भारी मात्रामा कर बढाएर करारी जवाफ दिएको छ।
यसैबीच अर्को महिना जापानमा हुने जी-२० समूहको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले र चिनियाँ राष्ट्रपति सि जिन्पिङबीच हुने भेटमा यस विषयमा कुरा हुन सक्ने बताइएको छ।