एनआरएन अमेरिकालाई अदालतको सातदिने म्याद : अब के हुन्छ ?

आगामी मे १८ र १९ मा हुन लागेको निर्वाचनमा होमिएको बेला टेनेसी कोर्टमा परेको एक मुद्दाका कारण एनआरएन अमेरिका पुन: एकपटक चर्चाको शिखरमा पुगेको छ।

अब उसले चुनावको तयारीभन्दा पनि चुनाव स्थगित गर्न अन्तरिम आदेश समेत मागिएको मुद्दाका लागि जवाफको तयारी गर्नुपरेको छ।जवाफ पनि सातदिन भित्र दिनुपर्ने भएको छ। त्यही जवाफको आधारमा अदालतले दिने निर्णयले चुनावको छिनोफानो गर्ने भएकाले आसन्न चुनाव नै शंसयमा परेको छ।

मुद्दा एनआरएन अमेरिकाकी पूर्व उपाध्यक्षसमेत रहेकी रविना थापा र उनका श्रीमान नारायण थापाको तर्फबाट अधिवक्ताहरु ग्रेगरी ब्राउन र रुथ एसम्यानले दायर गरेका हुन्। एनआरएन अमेरिका, वर्तमान अध्यक्ष डा. केशव पौडेल, यसअघिको निर्वाचन अयोगका प्रमुख आयुक्त बन्दिता दाहाल र आयुक्तहरू विश्व वराल, अञ्जान श्रेष्ठ र भुवन गुरूङ, एनआरएन उत्तर अमेरिका क्षेत्रका संयोजक गौरी जोशीलाई विपक्षी बनाइएको मुद्दामा निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्न अन्तरिम आदेशको माग गरिएको छ। निर्वाचन प्रमुख बिश्व बराललाई अयोग्य घोषित गर्नुपर्ने, निर्वाचन सार्नुपर्ने, सदस्यता वितरणको म्याद थप्नुपर्नेलगायतका माग पनि मुद्दाका विषय बनाइएको छ।

मुद्दामा विपक्षी बनाइएका एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल संस्थाको साधारणसभामा छलफल गरेर टुङ्ग्याउन सकिने विषय अदालतसम्म पुर्याउनु दुर्भाग्यपूर्ण भएको वताउँछन्।चुनावमा भाग लिएर हार व्यहोरेपछि अदालत जाने र संस्थाको बदनाम गर्ने परिपाटीप्रति खेद ब्यक्त गर्दै उनी भन्छन्- यसले समाजसेवामा लाग्न चाहनेलाई निरुत्साहित गर्छ।

अव के हुन्छ त ? भनेर मुद्दामा विपक्षी वनाइएका एनआरएन अमेरिकाका क्षेत्रिय संयोजक गौरी जोशीसँग जिज्ञासा राख्दा उनी भन्छन्- 'यसबारे केन्द्रलाई जानकारी गराएको बताउँदै केन्द्रिय तहबाटै समाधान खोजिने छ।'

अदालतमा मुद्दा दायर भएपनि चुनाव रोकिने कुरा असम्भव रहेको कार्यसमितिका बरिष्ठ उपाध्यक्ष एवं अध्यक्ष पदका उमेदवार सुनील साह ठोकुवा गर्छन्।आफु हार्ने डरले मुद्दा मामिला गरेको उनको आरोप छ। उनीसँगै अध्यक्ष पदका उमेदवारहरु सूर्य लम्साल र सन्जय थापा रहेका छन्। 

तपाई अध्यक्ष पदको उमेदवार हुनुहुन्छ तर निर्वाचन नै रोक्न मुद्दा दर्ता भैसक्यो, अव के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा बर्तमान कार्यसमितिका सदस्यसमेत रहेका अध्यक्ष पदका उमेदवार सञ्जय थापा भन्छन्- 'यसबाट अन्यौलमा परेको छु।' चुनाव प्रचारका लागि सिकागो र टेक्सासको हवाई टिकट बुक गरेका थापा भन्छन्- 'म मुद्दाको विपक्षमा छु। सवै मिलेर सरकारले मान्यता दिएको एकमात्र संस्थालाई जोगाउनुको सट्टा मुद्दा मामिला गर्नु कसैको हितमा पनि छैन।'

अमेरिकामा आएर पनि राम्रा कुरा सिक्न र गर्न कोही तयार भएको देखिएन भन्दै थापा अगाडि भन्छन्- 'अव कहाँ पुगेर हामीले सिक्ने हो ? प्राथना गर्नुपर्ने अवस्था आएको छ।'

यस विषयमा अध्यक्ष पदका प्रत्यासी सूर्य लम्सालको प्रतिक्रियाका लागि सम्पर्क गर्न चाहेर पनि भएन। तर, लम्साल पनि निर्वाचनकै पक्षमा रहेको बुझिएको छ ।

मुद्दाकी वादी पक्ष रविना थापासँग फोन सम्पर्क हुन नसकेकाले उनको प्रतिक्रिया लिन सकिएन।

अदालतले अन्तरिम आदेश जारी गरिनसकेको अवस्थामा अदालतलाई चित्त बुझ्ने जवाफ पठाउन सके निर्वाचन प्रक्रिया अगाडि वढ्ने देखिन्छ। तर, एनआरएनलाई नजिकबाट बुझेका एक नेपाली कानुन व्यवसायी मुद्दाको विवरण हेरेपछि भन्छन्- 'विपक्षीलाई न्यायाधीशको चित्त बुझाउन सजिलो देखिदैन।'

त्यसो भए के हुन्छ त ? यस प्रश्नको उत्तरमा उनी भन्छन्- 'यदि त्यसो भए निर्वाचन प्रक्रिया प्रभावित हुन्छ र वर्तमान कार्यसमितिको कार्यकाल नै लम्विने देखिन्छ।'

प्रकाशित मिति: : 2019-05-01 08:18:54

प्रतिकृया दिनुहोस्