अमेरिका 'माथ्लोबाटो' आउँने एक वर्षमै १,३६९ ओभर-स्टे, 'तल्लोबाटो' आउँनेको गन्ती नै छैन !

तथ्यांक हो यो, आफै बोल्छ ! सौजन्य: होमल्याण्ड सेक्युरिटी डिपार्मेन्ट

अमेरिकामा भिसाको म्याद गुजारेर ओभरस्टे बस्ने नेपालीको संख्या बर्सेनी बढ्दैछ। विद्यार्थी र एफ, एम र जे भिसामा अमेरिका आउनेमध्ये २२.२२ प्रतिशत त ओभरस्टे हुने डरलाग्दो तथ्यांक बाहिरिएको छ। यसैगरी अन्य विविध प्रयोजनमा आउने ४.९२ र पर्यटक तथा ब्यवसाय भिसामा आउँने २.२३ प्रतिशत नेपाली अमेरिकामै हराएका छन्। यो तथ्यांक आर्थिक वर्ष २०१७ मा उडेर आउने नेपालीको हो, तल्लो बाटो हुँदै मेक्सिकोबाट अमेरिका छिर्नेको संख्या यसमा जोड्ने हो यो संख्या निक्कै धेरै हुन्छ।

अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्मेन्टका अनुसार विद्यार्थी र एफ, एम र जे भिसामा अमेरिका आउने नेपालीको ओभरस्टे दर २२.२२ प्रतिशत पुगेको छ।तीन हजार पाँचसय ५६ नेपाली भिसा अवधि सकिएर फर्कनुपर्नेमा सात सय १२ नेपाली अमेरिकामै ओभरस्टे भएका छन्। 

तर, पर्यटक र ब्यवसाय भिसामा आएका २४ हजार दुईसय ४० नेपालीमध्ये २३ हजार छ सय ७६ नेपाली भिसाको निर्धारित म्यादभित्रै नेपाल फर्किएका छन् भने पाँचसय ६४ ओभरस्टे बसेका छन्। प्रतिशतमा बदल्दा यसरी आउँने नेपालीमध्ये ९७.६७ प्रतिशत फर्किएका छन् भने २.३३ प्रतिशत अमेरिकामै ओभर स्टे बसेका छन्।  

यसैगरी अन्य प्रयोजनका लागि अमेरिका आएका एकहजार आठसय ९० नेपालीमध्ये ९३ नेपाली मात्र ओभरस्टे बसेका छन्। यस श्रेणीमा आउँने नेपालीमध्ये ९५.०८ नेपाल फर्केका छन् भने ४.९२ प्रतिशत अमेरिकामै हराएका छन्। 

यी तीनै श्रेणीका नेपालीको संख्या जोड्दा २९ हजार छसय ८६ नेपाली अमेरिकाबाट भिसाको म्याद सकिएर फर्कनुपर्नेमा २८ हजार तीनसय १७ नेपाल फर्केका छन् भने एकहजार तीनसय ६९ नेपाली ओभरस्टे भएका छन् । 

यो तथ्यांक हवाइजहाज वा पानीजहाजबाट अमेरिका आउँनेको हो । यसबाट क्यानडा र मेक्सिकोको स्थलमार्गबाट आउँने नेपालीको संख्या जोडिएको छैन। 

नेपालीहरू ठुलो संख्यामा मेक्सिकोबाट आउने र बिना भिसाका उनीहरू स्वत: ओभरस्टे हुने भएकाले अमेरिकामा ओभरस्टे हुनेको संख्या योभन्दा धेरै ठुलो छ। 

यसरी ओभरस्टे हुने नेपाली अरूजस्तै कागजातविहिन आप्रवासीका रूपमा अमेरिकामा रहेका छन्।यो संख्या आर्थिक वर्ष २०१७ को हो। यसले के देखाउँछ भने एक वर्षमा हवाईजहाजबाट आएका नेपालीमध्ये एकहजार तीनसय ६९ नेपाली अमेरिकामै हराउँछन्। तर, तल्लो बाटो हुदै मेक्सिकोबाट अमेरिका छिर्ने नेपालीको संख्या पनि जोड्ने हो भने यो संख्या धेरै हुन्छ। 

एकअनुमानअनुसार अहिले अमेरिकामा रहेका करिव तीनलाख ५० हजारमध्ये निक्कै हजारको संख्यामा कागजविहीन नेपालीको संख्या रहेको छ। 

 

 

 

 

प्रकाशित मिति: : 2019-04-26 03:53:25

प्रतिकृया दिनुहोस्