अमेरिकी सञ्चार माध्यममा फेरि एकपटक रबर्ट म्युलर चर्चाको शिखरमा पुगेका छन्। अमेरिकी महान्यायाधिवक्ता बारले सार्वजनिक गरेको उनको प्रतिवेदनले राष्ट्रपति ट्रम्पलाई क्लिन चिट दिएपछि उनी चर्चाको शिखरमा पुगेका हुन्।
म्युलर प्रतिवेदनमै उनलाई राष्ट्रपति ट्रम्पले बीचैमा हटाउन चाहे पनि उनको किचेन क्याविनेट त्यसमा सहमत नभएको तथ्य बाहिर आएको छ।
सन् २०१६ मा अप्रत्यासित रूपमा अमेरिकी राष्ट्रपति निर्वाचित भएका ट्रम्पको जीत सधैं शंकाको घेरामा रह्यो। त्यही शंकालाई लिएर गठित म्युलर समितिका विशेष अनुसन्धानकर्ता म्युलरप्रति ट्रम्प सशंकित थिए। उनलाई लागेको थियो, म्युलरले फसाउँछन।
यही शंकाले लंका जलाएपछि राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमै धेरै पटक म्युलरको आलोचना मात्र गरेनन्, यो छानबिन समितिको औचित्यमाथि नै प्रश्न उठाए।
अहिले जब प्रतिवेदनमा ट्रम्पको रूसी साँठगाँठ भएको प्रमाण नमिलेको कुरा आयो तब ट्रम्पले म्युलरको प्रशंसा गरेका छन् भने म्युलरलाई विश्वास गर्ने डेमोक्रेटहरू उनीमाथि आशंका गर्न थालेका छन्।