क्यानडामा बढ्दैछन् पशुपतिनाथ मन्दिर

तस्वीर सौजन्य: चन्द्रश्याम डंगोल

नेपाली समुदायको बढ्दो आगमन र फैलँदो उपस्थितिसँगै क्यानडामा आराध्यदेव ‘पशुपतिनाथ’को अर्को मन्दिर स्थापना हुँदैछ।निर्धारित कार्यतालिका फेरबदल नभए अबको डेढ महिनाभित्र टोरन्टोको स्कार्बरो आसपासका नेपालीले ‘घर नजिकैको’ पशुपतिनाथ मन्दिरमा पूजा-अर्चना गर्न पाउनेछन्। 

टोरन्टोकै ब्राम्प्टन्मा पशुपतिनाथ मन्दिर पहिल्यै स्थापना भए पनि स्कार्बरो क्षेत्रमा नयाँ स्थापना गर्न लागिएको हो। काठमाडौंबाट कार्गोमार्फत क्यानडा ल्याइन लागेका तीन मूर्तिहरु प्राण–प्रतिष्ठा गरेपछि स्कार्बरोको नयाँ पशुपतिनाथ मन्दिर औपचारिक उद्घाटन हुनेछ। 

नेपालबाट झण्डै १२ हजार किमी टाढा।हवाईयात्रामै १५/१६ घण्टा।रात र दिनकै समय-अन्तर।भाषा र भूगोल मात्रै होइन, समय र संस्कारसमेत बेग्लै।नेपाल– क्यानडा, जो दुई विपरीत ध्रुवमा छन् । तर, यहाँ नेपालीहरु फैलँदै गरेको एउटा उदाहरण हो– एउटै शहरमा पशुपतिनाथका दुई मन्दिर ।  

‘कतिपय महानुभावले आपसमा नमिलेर नयाँ मन्दिर बनाउन लागेको सोचेको पाइयो, तर त्यो सरासर गलत हो’ स्कार्बरोमा पशुपतिनाथ मन्दिर बनाउने अभियानमा सक्रिय रबिन्द्र घिमिरे भन्छन्, ‘यस क्षेत्रका नेपालीहरुले पूजाआजा गर्न घण्टौं लगाएर टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्दै नयाँ बनाउन लागिएको हो।’

स्थापना हुन लागेको नयाँ पशुपतिनाथका लागि ललितपुरका मूर्तिकार चन्द्रश्याम डंगोलले तीन प्रतिमा बनाएका छन्।जसमा, पशुपतिनाथ, बसाहा महादेव, शिवलिङ्ग छन्।ती सामग्रीलाई मूर्तिकार डंगोलको उपस्थितिमै प्राण प्रतिष्ठा गरी पशुपतिनाथको मन्दिर औपचारिक उद्घाटन गरिनेछ।  

उपस्थिति र प्रभाव बढ्दै जाँदा भारतीय समुदायका मानिसहरुले क्यानडामा दर्जनौं मन्दिर, मस्जिद, गुरुद्वारा बनाइसकेको उदाहरण दिँदै घिमिरे भन्छन्, 'सामूहिक प्रयासबाट गरिने यस्ता धार्मिक तथा सांस्कृतिक संरचनाले आफ्नै समुदाय बलियो हुन्छ।'

‘छरिएर जहाँसुकै रहे पनि हाम्रो पहिचान नेपाली हो, क्यानडामा पनि त्यो पहिचान कायम राख्न नयाँ पशुपतिनाथ मन्दिरलाई सेतु बनाइनेछ’ मन्दिर स्थापनामा सुरुबाटै सक्रिय घिमिरेको विश्वास छ, ‘भोलि अर्को ठाउँमा नेपाली धेरै भए भने त्यहाँ पनि यस्ता संरचना राख्नुपर्छ, यसले हामीलाई झन् बलियो पार्छ।’  टोरन्टोस्थित स्कार्बरो, असोवा, नर्थयोर्क, एजेक्स, पिक्रिङ क्षेत्रमा नेपालीको बसोबास बढिरहेको उल्लेख गर्दै घिमिरे भन्छन्, ' सबैको चाहनाबमोजिम पशुपतिनाथ मन्दिर स्थापना गर्न लागिएको हो।'  त्यस क्षेत्रमा तीनसय ८६ नेपाली परिवार बसोबास रहेको उनको अनुमान छ।  

स्कार्बरोमा पशुपतिनाथ मन्दिर राख्न एलिस्मरस्थित राधाकृष्ण मन्दिर परिसरमै ठाउ“ उपलब्ध भइसकेको छ । गुजराती समुदायको स्वामित्वमा रहेको उक्त मन्दिर परिसरमै पशुपतिनाथ मन्दिर स्थापना गर्न मौखिक सहमति भइसकेको र ५ बर्षलाई लिखित सम्झौता हुन लागेको घिमिरेले जनाए ।  

मूर्ति निर्माण, निर्यात र जडानमा गरी लगभग १२ हजार क्यानेडियन डलर खर्च हुने उल्लेख गर्दै घिमिरे भन्छन्, 'त्यसनिम्ति स्कार्बरो आसपासका प्रत्येक नेपाली परिवारबाट सहयोग मागिने छ।१० हजार डलर संकलन गर्ने लक्ष्य राखी सुरु गरिएको ‘गोफण्डमी’मा १० जनाबाट १ हजार ४ डलर संकलन भइसकेको छ। 

टोरन्टोकै दोस्रो स्थानमा पशुपतिनाथ मन्दिर स्थापना हुनुलाई गैरआवासीय नेपाली महासंघ क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले ‘नेपालीहरु फैलिरहेको र पहिचानप्रति प्रतिवद्ध’ रहेको मान्नुपर्ने बताउँछन् । ‘समुदायको प्रभाव बढेपछि आफ्नो ठाउँमा सुविधा खोज्नु स्वभाविक हो’ काफ्ले भन्छन्, ‘यसले हाम्रो समुदाय अझै जोडियोस् ।’ 

यसअघि ब्राम्प्ट्नस्थित टोरब्राममा नेपाली समुदायकै सक्रियतामा पशुपतिनाथ मन्दिर स्थापना भइसकेको छ। ‘नेप्लिज कम्युनिटिज अफ् क्यानडा’ (एनसिएनसी)ले चलाएको अभियानमा धेरै नेपाली जोडिएर उक्त मन्दिर स्थापना भएको हो।

प्रकाशित मिति: : 2019-04-17 06:35:02

प्रतिकृया दिनुहोस्