नेपाली आँप क्यानडामा: ठट्टा कि साँच्चै ?

फाइल स्केच

‘हामी क्यानडालाई आँप, कतारलाई स्याउ खुवाउन सक्छौं’ नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै एक महत्वकांक्षी उद्घोष गरे, ‘अरु देशले यस्तो गर्न सक्दैनन्।’ नेपालका दर्जनौं उद्योगी व्यापारीमाझ प्रधानमन्त्रीले साताअघि गरेको यो उद्घोष सामाजिक सञ्जालमा ‘भाइरल’ बन्यो। 

रेल, पानीजहाज र घरैपिच्छे ग्यास चुल्होजस्ता बहुप्रचारित र दैनिक जीवनमा अत्यावश्यक देखिने योजना ल्याउँदा त इल्लीबिल्ली बनाइएका प्रधानमन्त्री ओली, ‘क्यानडालाई आँप खुवाउने’ उद्घोषपछि झन् किन ‘ट्रोल’ नबनुन्, जो झट्ट सुन्दै ‘ए, सम्भव होला र’ झैं लाग्थ्यो। 

नेपालबाट क्यानडातर्फ गलैंचा, तयारी पोशाक, छुर्पी, चिया, कफी, हस्तकला सामग्री आदि न्युन परिमाणमा निर्यात हुँदै आएकामा आँप पनि समेट्न खोज्नु राम्रो हो।क्यानडाले भने हवाइजहाजका पार्टपुर्जा, केमिकल्स, मेशिनरी र केही कृषि सामग्री नेपाल निर्यात गर्दै आएको छ। 

दौत्य सम्बन्ध कायम भएको ५५ बर्ष पूरा भइसक्दा पनि नेपाल–क्यानडावीच ब्यापारले अपेक्षित गति लिन नसकिरहेका बेला प्रधानमन्त्री ओलीको आँप निर्यात गर्ने उद्घोषले केही तरङ्ग सिर्जना भएको छ।किनकि, नेपालका लागि क्यानेडियन राजदूत नादिर पटेल एक सातादेखि नेपालकै खुम्बुक्षेत्रमै पैदलयात्रा गर्दैछन्। 

दुई देशवीच बार्षिक व्यापार एकदेखि डेढसय मिलियन डलरमाथि उठ्न नसकेका बेला नेपाली आँप क्यानडा निर्यातको चर्चा चलेको छ।र, कार्यकाल सकेर स्वदेश फर्किनुअघि क्यानेडियन राजदूत दुई हप्ताका लागि खुम्बु क्षेत्रमा छन् भने क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत पनि अटोवा आउनेक्रममा छन्। 

नेपाली आँप क्यानडा निर्यात गर्न दूरी र ढुवानीका माध्यम बाधक होइनन्। झण्डै १२ हजार किलोमिटर टाढा र सामुद्रिक मार्ग नभए पनि नेपालबाट क्यानडा सामान निर्यात गर्न असम्भव नै भन्ने छैन।श्रीलंका, भारत र पाकिस्तानले क्यानडामा अरु सामानजस्तै बर्षेनी ठूलो परिमाणमा आँप पनि निर्यात गरिरहेकै छन्।

 निर्यातनिम्ति पूरा गर्नुपर्ने प्रक्रिया जटिल र झण्झटिला भएकाले प्रधानमन्त्री ओलीले चाहेझैं नेपाली आँप क्यानेडियन बजारमा तत्कालै भित्रिने सम्भावना भने देखिँदैन।यसनिम्ति आँपलाई फोहोर, कीरा, विषादीबाट अलग्गै राख्नु त अनिवार्य सर्त छँदैछ, अरु थुप्रै कागजी प्रक्रियासमेत पूरा गर्नुपर्ने हुन्छ।

सामानको गुणस्तर प्रमाणित हुनेगरी दिइने गुड एग्रो प्राक्टिस्, गुड म्यानुफ्याक्चर प्राक्टिस् तथा खाद्यबस्तु उत्पादन भएको प्रमाण (कन्ट्री अफ् ओरिजिन्) सामान निर्यात गर्दा नभई नहुने कागजात हुन्।साथै, क्यानडा निर्यात गर्ने बस्तुका लागि खान उपयुक्त रहेको र मानव स्वास्थ्यलाई हानी नगर्ने प्रमाणपत्र पनि अनिवार्य हुन्छन्।

‘नेपाली आँप क्यानडा निर्यात गर्न चाहनु महत्वाकांक्षी योजना हो’ टोरन्टोस्थित फ्लेभरकेन् इन्टरनेशनल कम्पनीमा कार्यरत प्राविधिक निर्देशक तथा खाद्य वैज्ञानिक नारायण घिमिरे भन्छन्, ‘तर, निर्यात गर्नेक्रममा नभई नहुने कागजातका लागि नेपाली प्रशासनिक निकाय तयार भइसकेको देखिँदैन, धेरै कुरा पूरा गर्दा मात्र यो सम्भव छ।’ 

नेपाली उत्पादनको प्रवर्द्धनका लागि सरकारका तर्फबाट खाद्य तथा गुणस्तर नियन्त्रण विभागले प्रमाणपत्र उपलब्ध गराउने भए पनि निर्यात गर्दा त्यसलाई विदेशी निकायले मान्यता दिएको पाईंदैन।कुृषि उत्पादनको आविष्कार र प्रवर्द्धनलाई सघाउने कम्पनीको अनुभव संगालेका खाद्य वैज्ञानिक घिमिरे भन्छन्, ‘प्रशासनिक निकाय चुस्त बनाएको खण्डमा नेपाली आँप क्यानडा निर्यात असम्भव छैन।’

क्यानडाको टोरन्टो त्यस्तो शहर हो, जहाँ संसारका धेरै देशबाट थुप्रै थरिका आँप बिक्रीका लागि ल्याइन्छन्। यहाँको सरकारी तथ्यांकअनुसार, सन् २०१७ मा ६२ हजार चारसय ९० मेट्रिक टन आँप र अम्बा क्यानडा भित्रिएको देखिन्छ।यो क्रम सन् २०१८ मा झण्डै १२ हजार मेट्रिक टनले बढेको अनुमान छ।‘टेरिफ कोड’ एउटै हुनाले आँप र अम्बाको आयात निर्यात विवरण सँगै हुन्छ।

क्यानडामा मुख्यगरी पाकिस्तानको चोसा र अनवर रातोल नामको आँप सबैभन्दा मीठो र महङ्गो मानिन्छ। भारतबाट आउने केसर, अप्सचो, बन्गंपली, माल्दा र चोासा सिजनमा बजारभर भेटिन्छन्।यस्तै, श्रीलंकाबाट भित्रिने कोलंबन भिले, मल्वाना र ग्रीन उल्लार्ड पनि बजारमा सर्वसुलभ पाइन्छन्। 

‘श्रीलंका, भारत र पाकिस्तानका थुप्रै खाले आँप क्यानेडियन बजारमा पाइए पनि तिनले सजिलै यहाँ बजार पाएका होइनन्’ घिमिरेले सुनाए, ‘थुप्रै चरणका प्रक्रिया पूरा गरेर गुणस्तर कायम राखेपछि मात्र क्यानडाको बजारमा भित्रिन पाएका हुन्।’ अमेरिकाले रोक लगाएपछि पाकिस्तानको आँप क्यानडातिर बढी निर्यात हुन्छ।

आफ्नो देशको आँपको स्वाद लिन अमेरिका बस्ने पाकिस्तानीहरु घण्टौं ड्राइभ गरेर गर्मी याममा क्यानडाका टोरन्टो, अटोवा र जेराडसम्म आइपुग्छन्।जेराड शहरका व्यापारीले गर्मी याममा पाकिस्तानबाट ६/७ सय किलो क्यारेट आँप मगाए पनि अपुग हुनेगर्छ। भारतीय र श्रीलंकन आँपको बजार पनि उत्तिकै ठूलो छ। 

स्वदेशी आँप क्यानडा निर्यात गर्ने योजना बनाउनुपूर्व नेपाली सरोकारवालाले आँप बजार बुझ्नु जरुरी छ। भारतले क्यानडाभन्दा नेपालमा धेरै आँप निर्यात गर्ने भारतीय उद्योग मन्त्रालयको तथ्यांक छ।त्यसरी सस्तो मूल्यमा भारतीय आँप भित्रिँदा नेपाली किसानले मार खेप्नुपर्छ। 

‘बरु, भारतीय आँपको आयात रोकेर नेपाली आँपलाई स्वदेशभित्रै उचित मूल्यमा बिक्री वितरण गर्ने व्यवस्था मिलाउँदा किसान र उपभोक्ता दुबैको हित हुन्छ’ घिमिरेको सुझाव छ, ‘पहिले स्वदेशी उत्पादन र वितरण राम्रो पारेपछि क्यानडा या अरु मुलुकमा निर्यात गर्ने कदम चाल्नु बुद्धिमानी हुन्छ।’ 

नेपालबाट पनि आँप निर्यात गर्ने प्रधानमन्त्री ओलीको योजना आफैंमा नराम्रो होइन।तर, क्यानडामा हाल भइरहेको आँपको बिक्रीवितरण, उपभोक्ताले खोज्ने गुणस्तर र निर्यातक्रममा पूरा गर्नुपर्ने प्रक्रिया नियाल्दा प्रधानमन्त्री ओलीको यो योजना तत्काललाई भने ‘अर्को एउटा ठट्टा’ झैं देखिन्छ।  

प्रकाशित मिति: : 2019-04-14 20:00:11

प्रतिकृया दिनुहोस्