नयाँ वर्ष २०७६ मा अमेरिका र अमेरिकामा रहेको नेपाली डायस्पोराले पाउँने भनेको वासिङ्टन डी सीमा एक थान राजदूत हो। त्यसमा नयाँ आउने हुन् कि पुरानै दोहोरिने हुन् ? अमेरिकालाई भन्दा पनि यहाँको नेपाली डायस्पोरामा अहिले प्रश्न नम्बर १ यही बनेको छ।
केही समय अघिसम्म धेरैलाई अहिलेकै राजदूत डा. अर्जुनकुमार कार्कीको भाग्य बलियो जस्तो लागेको थियो। अधिकांशले भन्थे- 'शीतलनिबासदेखि वालुवाटारबाससम्मै तथास्तु हात छन्, धारे हात छैनन्।फेरि अर्को चार वर्ष खाने भए काजीले।'
तर, अहिले त्यसो भन्नेहरूको संख्या आधा घटेको छ। बालुवाटारमा उनीभन्दा पनि अरू नै बलिया बाङ्गाहरूको उठबस पुगेको बताइएको छ। पुल्चोकबास पनि नयाँ ल्याए केही फरक हुन्थ्यो कि भन्ने मनस्थितिमा पुगेजस्तो देखिएको छ।
यति नै बेला अमेरिकी राजदूतका लागि काठमाडौंमा एउटा नयाँ नाम सुन्न थालिएको छ- नीलकण्ठ उप्रेती।निर्वाचन आयोगका प्रमुख भैसकेका उप्रेतीको नाम यसअघि भारतका लागि नेपाली राजदूतमा प्रस्तावित मात्र हैन, क्याविनेटमा पास नै भएको थियो। तर, संवैधानिक आयोगमा भैसकेको मान्छे राजदूत हुन नसक्ने भनेर कुरा बाहिर आयो।भित्रचाँहि त्यति मात्रै कुरा थियो कि अरू नै पनि थियो, उनको नाम बाहिर नै ल्याइएन। अहिले त्यहाँ निलाम्बर आचार्य राजदूत भएर गैसकेका छन्।
परराष्ट्रमन्त्रीदेखि प्रधानमन्त्रीको गुड बुकमा भएका उप्रेती राजदूत हुन नसक्ने प्रश्नै भएन। तर, उनी संवैधानिक अंग निर्वाचन आयोगको प्रमुख भैसकेका मान्छे अन्य सरकारी नियुक्तिमा योग्य नहुने संवैधानिक प्रावधान अझै पनि बाँकी नै छ। त्यही प्रावधानका कारण उनी राजदूत नहुन सक्छन्। तर, उनी भारतका लागि राजदूतमा प्रस्तावित हुँदा एकाथरिले राजदूत सरकारी पद हैन पनि भन्न भ्याएका थिए।त्यसरी भन्न भ्याउनेहरूको मनोबल अहिले बढेको छ र उनीहरू यसो पनि भन्न थालेका छन्- धेरै भए अदालत जाने हुन्, त्यहाँ त चोलेन्द्र छँदैछन् नि। अहिलेको सरकार आफूले चाहेको जे पनि गर्न र गराउँन उद्दत भएकाले यो पनि नगर्ला भन्न सकिन्न।
अमेरिकाको नेपाली डायस्पोरामा नयाँ कि पुरानो राजदूत भन्ने प्रश्नमा यहाँका मान्छेहरूको आआफ्नो सोच र कोणमा भर पर्छ। यहाँ रहेका कांग्रेस र राजावादी समर्थकहरूलाई थाहा छ- जो आए पनि उनीहरूको मान्छे आउँने हैन, अर्को एक थान बर्गशत्रु नै आउँने हो। जो आए पनि कानै चिरेको ।
चासो र चिन्ता सत्तारूढ नेकपा समर्थकलाई हो । उनीहरू बोल्न नसकेका मात्र हुन्, वर्तमान राजदूत कार्कीको व्यवहारबाट खुशी छैनन्। कारण अरू पनि होलान् तर मुलत यी राजदूतले उनीहरूलाई भाउ नै दिदैनन्। उनीहरूका कुरा सुन्दैनन्, उनीहरूका पक्षमा कुनै काम गर्दैनन् ।अनि उनले गरेका काम विबादास्पद हुँदा त्यसबाट उनीहरूको माउ पार्टीलाई फाइदा त भएको छैन नै, उल्टै उनले गरेका कतिपय विवादास्पद कामको जिम्मेवारी लिनुपर्ने अवस्था आउँदा बोल्तीबन्दको अवस्था सिर्जना भएको छ।
यो परिस्थितमा उनीहरू पनि नयाँ नै आइदिए हुन्थ्यो भन्ने पक्षमा छन् तर पार्टीका सामु निरीह यी प्राणीहरू मुख खोल्न सक्दैनन्। हुनसक्छ, यिनीहरूले पनि आफ्नो च्यानल प्रयोग गरेर नयाँ नै भनिरहेका हुन्।
डा. कार्कीको पहिलो कार्यकाल अत्यन्तै अलोकप्रिय र विवादास्पद भयो। उनीमाथि लोकल कर्मचारीका नाममा मानव तस्करी गरेकोदेखि भूकम्पपीडितका लागि उठाएको रकम पनि हिनामिना गरेको आरोप लाग्यो। पुरानो राजदूत निबास मर्मत र नयाँ राजदूत निबास खरिदमा मोटो कमिशन हात लगाएको आरोप लाग्यो। यी अत्यन्तै संगीन आरोप हुन्। यस अतिरिक्त उनको लाठ साहेब पल्टिने व्यक्तिगत स्वभाव, आममानिस र समुदायसँग पटक्कै घुलमेल गर्न नचाहने प्रवृति, भोगविलास र अमनचयनमा राष्ट्रको सम्पति दोहन गर्ने चरित्र र अमेरिकी सरकारसँग डिल गर्ने कूटनीतिक योग्यताको अभाव पनि प्रष्टसँग देखियो। परराष्ट्र मन्त्रालयका सचिवसँग त ओली सरकार आउँनुअघि धेरै समय उनको पानी बाराबार नै थियो। उनी नयाँ राजदूत निबासका लागि बजेट दिन आनाकानी गरेको भनेर परराष्ट्र सचिवसँग खुशी थिएनन्।
काठमाडौंले यी सबै कुरा सुनेको छ र सुन्नुपर्ने ठाउँमा सुनाएको पनि छ। त्यसैले डा. कार्कीको सम्भावना कम हुदै गएको हो कि जस्तो छ।
हुन त उनले आफू दोहोरिनका लागि शक्तिकेन्द्रको राम्रै खातिरदारी नगरेका हैनन्। राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका आउँदा न्युयोर्क पुगेर पूरै सेवा गरेका थिए।राजदूताबासको ३५ हजार अमेरिकी डलर उडाएर रात्रीभोज नै दिएका थिए। गत वर्ष प्रधानमन्त्री आउँदा स्वागत सत्कार मात्रै हैन, राष्ट्रको दुई करोड सकाएर कोष्टारिकाको भ्रमण गराएका थिए। पार्टी सहअध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारमा आउँदा त आफ्नै निबासको पाहुना बनाएर विशेष व्यवस्था नै गरेका थिए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणमा पनि सम्भव भएसम्मको सेवासुश्रुषा गरेकै थिए।
तर, यी सबै गरेर पनि उनले अमेरिकीसँगको कूटनीतिक सम्बन्धमा कुनै छलाङ् मार्न सकेका थिएनन् र अनेक विवादमा फसेर सरकारका लागि छात्ति फुकाएर बोल्ने अवस्था पनि सिर्जना गर्न सकेनन्।
अहिले पनि उनी काठमाडौंमा शक्तिकेन्द्रहरुमा धाइरहेका छन्।उनी भरिशक्य दोहोरिन, नभए पनि अर्को नियुक्ति ढिलो बनाएर यता आफ्ना कामहरू सिध्याउन लागिपरेका छन्।