अमेरिकी राज्य वासिङ्टनमा सुर्तीजन्य दुर्ब्यसन घटाउन २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गर्ने कानून ल्याउने विधेयकमा हस्ताक्षर गरिएको छ।
यससँगै अमेरिकामा १८ वर्ष उमेर समूहभित्रका युवालाई लक्षित गरी लगाइएको रोक २१ बर्ष कायम गर्ने वासिङ्टन नवौँ राज्य भएको गभर्नरको कार्यालयले जनाएको छ ।
नयाँ कानूनअनुसार वासिङ्टनमा सुर्तीजन्य पदार्थ खरिद गर्न पाउने न्यूनतम उमेर १८ बाट २१ भएको छ।यो विधेयकलाई वासिङ्टनको सिनेटले गत बुधबार सन् २०२० को जनवरी १ देखि लागू हुनेगरी पास गरिसकेको छ।
‘हामीले सुर्ती र निकोटिनसँग सम्वद्ध खतरालाई बुझेका छौं।हामीलाई यो पनि थाहा छ कि हाम्रा बालबालिका दर्ब्यसनमा नफस्दै उनीहरूलाई धुम्रपानको कुलतबाट जोगाउन जति सजिलो छ त्यति धुम्रपान शुरू गरेका युवालाई सही ठाउँमा ल्याउन त्यति नै कठिन पर्छ।अझ उनीहरूलाई धुम्रपानका कारण क्यान्सर तथा अन्य रोग लागेपछि उपचार थप कठिन हुन्छ,’गभर्नर जय इन्स्लीले भने।
गभर्नरले वासिङटनका महान्यायाधिवक्ता बोव फेगुसनको उपस्थितिमा विधायक, स्थानीय स्वास्थ्य अधिकारी तथा दजर्नौं विद्यार्थीको रोहबरमा वासिङ्टनको सवैभन्दा ठूलो शहर सियाटलस्थित फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टरमा उक्त कानूनलाई वैधताका लागि हस्ताक्षर गरेका हुन्।
धुम्रपान कानून सुधार विधेयकको कडा पक्षधर फेगुसनले भने, ‘पछिल्लो धुम्रपानबारेको कानूनले हजारौँ वासिङ्टनवासीलाई धुम्रपानका कारण अकालमा हुने मृत्यु तथा रोगबाट जोगाउनेछ।’
यस प्रकारको कानूनको घोषणा गर्ने पहिलो अमेरिकी राज्य हवाई हो। यो कानून यसअघि क्यालिफोर्निया, मेन, म्यासाचुसेट्स, न्युजर्सी, उताह, भर्जिनिया र ओरगन राज्यमा लागु भैसकेको छ।